अलिअस्ति त्रिशूलीले बगाएको
दुई यात्रुबसभित्रका बेपत्ता लाशहरू
ढाडिएर, फुलेर,
सडेर, गलेर
मेरो कविता छेवैमा आन्दोलन गर्न आएका छन् ।
मोक्ष जिवितहरूको मात्र जित हो जस्तो लाग्ने गर्थ्यो ।
मलाई गलत बनाउदैँ
मेरो कवितामाथि ढुङ्गामुढा गर्दै ती लाशहरू
घरमा खाना, विछ्यौना कुरेर बसेका परिवारले
अन्तिम पटक देख्न पाउन् भन्ने माग राखेर
नाराबाजी गर्दै बिरोधमा उत्रिएका छन्-
असुरक्षित बाटाे, मुर्दावाद !
निर्माणकार्य अलपत्र पारी छोड्ने ठेकेदार, मुर्दावाद !
मृत्युको जिम्मा नलिने राज्य, मुर्दावाद !
अनुशासनहीनता, दण्डहीनता, मुर्दावाद !
भ्रष्टाचार, मुर्दावाद !
एउटा जान्छ,
माथि पाखाबाट गतिलै रूख ढालेर ल्याई
बीच बाटामा तेर्स्याउँछ ।
अर्का दुईजनाले तल बगरबाट ढुङ्गा बोकेर ल्याई
पसारो पार्छन् ।
तीन जना अर्धनग्न भएर लम्पसार सुतेका छन्,
बाँकी पछाडी घेरिएर आवाज दिइरहेका छन्-
असुरक्षित बाटाे, मुर्दावाद !
निर्माणकार्य अलपत्र पारी छोड्ने ठेकेदार, मुर्दावाद !
मृत्युको जिम्मा नलिने राज्य, मुर्दावाद !
अनुशासनहीनता, दण्डहीनता, मुर्दावाद !
भ्रष्टाचार, मुर्दावाद !
आईमाई, वृद्ध, केटाकेटी, दलित, आदिवासी,
जनजाति, अपाङ्ग, मज्दुर, पूजीपती,
सबको समावेशी प्रतिनिधित्व छ ।
उनीहरूको चर्को प्रदर्शनले
राजमार्ग अवरूद्ध भएको खबर
सिहंदरवारभित्र पुग्यो ।
मुर्दाहरूको अभूतपूर्व आन्दोलनले देशैभरी
आँधी सृजना गर्न सक्ने आँकलन गरी
त्यसलाई दबाउनै पर्ने निर्णय मन्त्रीपरिषदबाट
सर्वसम्मतले पारित भयो ।
तीन भ्यान प्रहरीहरू आए ।
जिउँदालाई त न्याय दिदैनौँ हामी मुलुकमा,
भयो आन्दोलन रोक्नुस भनेर तर्साए ।
नमानेपछि झडपको स्थिती भयो ।
कुटाकुट, ढुङ्गा, भाँटा हानाहान, टियर ग्याँस, लाठिचार्ज...
भागदौडमा केहीका गलेका हातखुट्टा उच्छिट्टिएको थियो,
केहीले कुहिएको मासुरगत छोडेर गएका थिए,
एउटाको त अझ सडेको गिदी नै छरपष्टिएको थियो ।
नगरपालिका आज स्थानीय बिदामा छ,
फोहोर नउठ्ने भयो ।
त्यसैले दुईचार दिन अझै
मेरो कविता गन्हाउँछ ।
No comments:
Post a Comment