Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

Showing posts with label poems(Nepali). Show all posts
Showing posts with label poems(Nepali). Show all posts

मङ्सिरको सयपत्री

सूर्यमुखी भनेर अर्ह्याएकी थियौ,

सयपत्री मेरो गाउँघरमा पाइन्छ ।

हुन्छ, काम चल्छ भने 

चार अम्मलजति भेट्नोसहित चुडेँर

जतनसाथ दुईचार डोका

चिसो जुटले बेरबार पारेर

भोलि सबेरैको दुधगाडीमा

तिम्रो नामनम्बर लेखाएर पठाँउला ।


मङ्सिरको सयपत्री विछट्टै मदमत्त वसाउँछ ।

बोटमै ओइलाउन पाउने यिनका नियतीलाई

सौभाग्य ठान्छु कहिले म,

कहिले उमङ्गको तिरस्कार ।

हरेकका आ-आफ्नै व्याख्या

तर पनि खेतबारीका डिलकुना यताउती

सुनौला घामका न्याना किरणमुनि

नाँङ्गा बुढापाते बोटमा 

फाट्टफुट्ट पहेँला टाटाजस्ता भएर

जबरजस्त अटेरी लिसोजस्ता,

कसैले नदेखुन भनेर लुकेर रहेको जस्ता,

रातभर सगाँलेका शित 

छातीभरी सुकाउँदै

अर्को एक दिन

जगतको सुन्दरता पिएर

जोडीजुरेलीका नाँचगान सित्तन चपाउँदै

केही थुगाँहरू हासिँरहेछन्, टिपिदिन्छु;

तिम्रो भोक नमार भन्छु म ।

पतनको यात्रा

खुला आकाश, पूर्णचन्द्र उजेलो, अन्तिम एकादशीको रात,

फराकिलो, सजिलो सडक, ढुक्चुक ढुक्चुक गोडाको ताल 


मोहक गन्तव्य कपटको, कल्पिसकेँ, अब फर्किन्न कसैगरी,

दास म निधोको, मालिक तकदिरको, अब फर्किन्न कसैगरी


देवताजत्तिकै समान हको दानव, यस धरतीमा सब बराबर,

सही गलत मान्छेको दर्शन, निर्दोष्य छैन कोही, सब बराबर 


जित्नेकै भाष्य हो इतिहास, घिच्च्याहट हरुवापिँढीको सार,

झुट थियो युधिष्ठिरले निलेको पाप पुण्य पनि, गौरव बेकार


जन्मै पहिलो जीत विनाकर्म स्वयंक‍ो, मृत्यु शाश्वत अन्तिम,

खाऊँ, लाऊँ मैँ, सयलबयल गरिरहूँ मैँ, मृत्यु शाश्वत अन्तिम

हुरी

भर्खर निदाएको मात्र थिएँ
हिजो मध्यरातमा आधोँ हुरी चल्यो,
डाङ्डाङ्, डुङ्डुङ्, हार्र, हुर्र !

ढोका नलगाई सुत्ने बानी आफ्नो,
हुरी सरासर भित्रै !
पहिला भान्सा कोठामा पस्यो ।
तीन दिन देखि नजलेको चुल्हो,
ढुसी उम्रिसकेका उब्रेपाब्रे,
जुठाभाडाँ असरल्ल भूइँभरी,
साङ्लालाई मनपरी भतेँर,
पानी खान्छु भन्दा समेत चोक्टै चोक्टा ।

रिसले हुन्हुनिदैँ हुरी
मेरो अध्ययन कोठामा छिर्यो ।
रहरले भित्ताजत्रै बनाएको
मभन्दा आधा उमेरको मेरो बुक-सेल्फ,
जस्को पनि आधा उमेर खुब सक्रीय बित्यो
र रित्तिन थालेको भर्खरभर्खर थियो,
मिहिन दृष्टिले केलायो ।

निष्प्रभावित मुद्रामा दाह्री कन्याउदै
थ्याच्च मेरो कुर्सीमा बस्यो,
कब्जियतले ग्रसित भएर थला परेको मेरो नोटबुक 
टेबलबाट टिप्यो, टक्टकायो र पल्टायो ।
पहिलो पानामै ओठ चेप्र्यायो, कन्चेटी कन्यायो,
र थप पाना कविताहरू खरर्र पल्टायो ।

देब्रे हातको नाडी बटारिनु नै थियो, अहिल्यै कि एकछिन,
हस्याङ्फस्याङ्, जुरूक्क उठ्यो,
दाहिने हातले नोटबुक टेबुलमै छोडिदियो,
खुला रहेको झ्यालको खापालाई ढ्याप्प लगाइदियो
र फन्किएर कोठा बाहिर निक्लियो ।

यता म सुत्ने कोठामा पनि आउँछ
र त्यसलाई घोक्रयाएर 
त्यो सगँबाट लय लुटी राख्छु
र घर फोर्दै हिँडेको आरोपमा थुनाइदिन्छु 
भन्ने योजनाले 
त्यसलाई ढ्याप्पा दिन 
ढोका पछाडी आग्लो अँठ्याएर 
तयार थिएँ ।

मूला हुरी त मेरो कोठामा नछिरी सरासर गैदि'रा ।

प्रतिस्पर्धा

 पछाडिको जोर गोडा थुतिएको कमिलो

दुवै पखेटा पालैपिलो उखेलिएको झिङ्गो

प्रतिस्पर्धा एक दाना चिनी तीन बीत्ता पर्तिर

सास छन्जेल आश हुनैपर्यो, पेट छन्जेल दास ।

मरिमेटी अघि सर किरो, सृष्टिलाई शरम आउँदैन,

जन्म नचहादाँ नचहाँदै, चहाँदैमा मृत्यु आउँदैन,

विकार गाँठिएको छ ब्रह्माण्डको जिलोसम्मै,

एउटा जीवनको मूल्य छैन, एउटा मृत्युले केही सुल्झदैन,

निरन्तरता हुनुपर्दछ यान्त्रिक, स्याबास भाइ, सब ठीक,

एक चटाइ मात्र गुलियोको सब थोक जिन्दगी तेरो ।

किन, केकसो सोध्न वर्जित, तँ झिगाँकमिलाको बुद्धि छैन,

डाँडापखेरा कुनाकन्तराका बसोबासी तिमेरू,

परिवर्तित विश्वमा परम्परा, संस्कृती, पहिरन, रहनसहन,

सब गरीब तिमेर्को आवाज माथि पुग्दैन प्राथना प्रलाप हो शैतानको खुट्टामा । कर्मको यान्त्रिक निरन्तर्ता तिमेर्को

आजैदेखि मृत्युलाई तयारी । प्रश्नले सत्यसम्म पुर्याउँछ, 

सत्यसगँको प्रेमले विद्रोही जन्माउँछ । 

त्यस सन्तानलाई मर्न गाह्रो हुन्छ ।

त्यसैले हिँड भाइ किरो, एक चटाइ मात्र गुलियो 

भए पनि होवस् जिन्दगीमा तेरो, प्रतिस्पर्धामा अर्को छ फेरी ।

पुग्न त पुग्छ छेत्तोखेलो, तर सवाल हुनु नहुनसगँ होइन ।

बाँडफाँडमा गल्ती छ, टाउकाभित्रको डिजाइनमा

दोष छ । सवाल त्यो टाउकालाई आकृष्ट

राखिरहनु पर्ने छ, मनोरञ्जित पारिरहनु पर्ने छ ।

र त प्रतिस्पर्धा छ को पहिला पुग्छ, 

कस्ले कति पटक गुलियो चाट्छ ।

चेपागाँडा ताल

 {पुग्या पनि एक्काउन्न प्रतिशत

नपुग्या नि एक्काउन्न प्रतिशत

कुल जोड्दा शत प्रतिशत

यो हो चेपागाँडा ताल ! }


जिन्दगीमा साहिँली चेपागाँडा ताल भाे

न त नीको, न त चर्को खैँजडीको हाल भो ।


हुदाँ नि ठीक छ साहिँली, आहा, मनै हरर

नहुदाँ झन बाह्रमासे हरियाली, चरी भरर ।


उर्ली बग्छे सेती साहिँली, शान्त हुनलाई हो

शान्त बस्छे फेवा चेली, उर्ली झर्नलाई हो ।


एक्काउन्न प्रतिशत प्रेम साहिँली, एक्काउन्नै तिम्रो तिरस्कार

आत्मा चिसो, पुसमा न्यानो, रुनु कि हाँस्नु चेपागाँडा ताल !

गर्ने चाहिँ के रै'छ अरू

 तिमीले मलाई छोडेर जादाँको दिन

दुई विकल्प मात्र बाकीँ थिए मसगँ-

सफल मानिस हुने वा असल मानिस ।


खराब भएर सफल हुनुभन्दा

असफलताको मूल्यमा असल हुनु वेश  

किनकी सफल हुनु रहर हो

असल हुनु बाध्यता ।


रहर र बाध्यता सगैँ राखेर जोख्दा

तराजु कतातिर ढल्कन्छ 

तिमी पनि जान्दछौ

मैले भन्नै किन पर्छ ।


तर त्यो तराजु डल्लै काल्पनिक थिय‍ो ।

मैँले मेेसो पाउँदाको दिन हल्का ढिलो भएकै हो ।

अझै पत्तो पा'छौ कि नाइ तिमीले

मलाई भन्न जरुरी नि छैन

मैले जान्न जरुरी नि छैन ।

तर तिम्रो याद आयो मध्य रातको ऐठनमा 

र यो टुक्रा कुदेँर तिमीलाई सम्बोधन गर्दैछु ।


म त आफैले उधन्नेको प्रज्ञानक‍ो पछि पछि दगुर्ने गर्दछु

बिर्सिएर त्यो तराजु र त्यसले तौलने वजन ।


मान्छे भएर जन्मेपछि 

गर्ने चाहिँ के रै'छ अरू

आफ्नै आत्मा आफैँले नउधिने ।

मैले एकै बसाइमा तिमीलाई र मृत्युलाई कुरिरहेँ

मैले एकै बसाइमा तिमीलाई र मृत्युलाई कुरिरहेँ न तिमी आयौ, न मृत्यु नै । साला भुस्याहा कुकुरको लुतोजस्तो लाग्यो पर्खाइ, र उठिहिडेँ

नाडीको घडीमा जिन्दगी अझै लामै बाकिँ थियो
सकाउनलाई त्यसै दिन देखि चौगुना चुरोट पिउन थालेँ,
चह्राउने होशमा बस्नै पर्ने के बाध्यता छ र ?
वेहोशीमै आनन्द ! मैले गाँजा पनि प्रशस्तै पिउन थालेँ ।
मैँले समाज त्यागेँ कि खै समाजले मलाई त्याग्यो,
म बडा असामाजिक ठहरिएँ, एक्लो एक्लो भएँ
मध्यरातमा जब खास्राकखुस्रुक गरेर अघिपछि साङ्गलाहरू दगुर्छन्,
मलाई लाग्छ अझै म तिमीलाई र मृत्युलाई नै पर्खदैँछु
तर यो पर्खाइमा पनि पहिलेजस्तै
दुबै नआओ न ल !

गहिरो दहको किनारमा

“ज्या !”
मूल सडकमा
अनेक सुरले
ढ्याकढ्याक उफार्दै हिँडेको टेनिस बल
किनाराको फोहोर नालीमा खसेपछि
बच्चोको मुखबाट रुन्चे आवाज आउँछ ।

बडो सङ्घर्षले किनेको बल थियो त्यो ।
बाबाको गोजी थोरै काटेको,
मन्दिरको भेटी पुजारीले नदेख्ने गरी टिपेको,
आफ्नो सिसाकलम साथिलाई बेचेको,
हप्तौँको खाजा खर्च कटाएको,
आमालाई धुइँपत्ताल पिरोलेको,
दुई रूपैँया पसलेले बल्लबल्ल मरेर छुट दिएको !

रातो थियो बल । हरियोभन्दा रातो बलियो भनेर किनेको ।
साह्रो थियो बल । गिलो भन्दा साह्रो मजा भनेर किनेको ।
प्यारो थियो बल, जिवनमा पहिलो खेलौना आफ्नोलागि आफैँले किनेको ।
खस्यो नालीमा त्यही बल, आँखैअगाडी बग्दै गयो ।
आँखैअगाडी त्यही बल नालीनाली बल बग्दै गयो,
बच्चो किनारकिनार दगुर्दै पछि लाग्यो ।

सानो नाली ठुलो नालीमा मिसियो ।
ठुलो नाली गहिरो दहमा मिसियो ।
किनारकिनार हिँडेको बच्चो केटो भयो,
तन्नेरी भयो,
बैँसको भयो ।

त्यो गहिरो दहको किनारमा अझ छ ऊ ।
रातो बलको ढ्याकढ्याक सम्झेर टोलाइ रहेछ ।

एक ! दुई ! एक ! दुई !

दायाँ गोडा अगाडी,
पछाडी बायाँ टुकुर टुकुर
तेस्रो आँखा खाटैमा छोडी,
हिँडेँ लुखुरलुखुर,
एक ! दुई !
एक ! दुई !

सुरुवात— एक
गन्तब्य— दुई
सिपाहीको नियमित परेड एकदुई ।

विहान— एक
बेलुकी— दुई
धडकनको अनवरत चाल एकदुई ।

आफूलाई नै खोज्दै थिएँ

आफूलाई नै खोज्दै थिएँ, ( र खोज कष्टकर थियो । )
सपनामा          ( विपनामा फुर्सद कहाँ हुन्छ ? )
झल्यास्स बिउझिएँ           ( प्राय सधैँ यस्तै हुन्छ । )
उज्यालो भइसकेकै थिएन         ( घाम अल्छी छ मभन्दा । )
पानी पर्दै थियो         ( हिजो भन्दा यत्ति फरक थियो आज । )
शिरानीमुनिको किताब झिकेँ ( पढी नभ्याएको किताब राख्ने ठाउँ यहीँ हो मेरो । )
र पल्टाएँ तत्काल          ( किनकी रित्तिदोँ आयुले अत्यास लगाउँछ । )
हिजो राती दोबारी छोडेको पाना ( नहराएको चीज कसरी भेटिन्छ ??? )

भविष्यको मृत्यु

विगत मरेकै ठीक, तर मर्दैन,
वर्तमान भइदिन्छ, र थाक्दैन ।

हिजो एकजना भाइलाई धेरै पछि भेटेको थिएँ,
घाटमा,
चकमन्न कालो मध्य रातमा ।
उत्तिकै सालीन थियो, उत्तिकै इमान्दार,
फेरिएकै रहेनछ ऊ, मृदुमुस्कान क्या सान्दार !
भन्थ्यो, “दाइ, भविष्य अस्ती म¥यो नि
थाहा पाउनुभो ?
यहीँ ठाउँमा दाहसंस्कार ग¥यौँ हामीले
क्या रुवावासी भो !”

मैँले जीब्रो टोकेँ, “हो र ?”

“हो दाइ,” उसले भन्यो, “हो, अस्ती मर्ने त्यो भविष्य नै थ्यो ।”

असीम त्रासले मलाई खल्र्याप्पै निल्यो,
र पसिनापसिना भएर मैँले सोधेँ, “भविष्य मरेकै हो त भाइ ?
अब के हुन्छ ?”

“केही हुदैँन दाइ,” शान्त थियो ऊ,
“दुई दिन पीडा हुन्छ,
त्यसपछि सब ठीक हुन्छ ।”

“हो र भाइ, सब ठीक हुन्छ ?” म आश्वस्त हुन खोजेँ ।

“हो दाइ, सब ठीक हुन्छ,
बिर्सेको विगत नै वर्तमान हुन्छ,
यसै पनि भविष्य हाम्रो कहिल्यै थियो र दाइ ?”

“हो है,” मँ हाँसेँ
र ऊसगँ दुईचार चुरोट समय बेप्रसङ्गी बात मारेर
घर फर्किएँ ।

ऊ धूवाँ बन्यो,
जहाँबाट आएको थियो, त्यही गयो ।

किन ?

किन
सधैँ तिमीलाई खुसी बनाउन
लेख्नु पर्ने मैँले कविता ?

विहान जिन्दगीले नमीठो चड्कन लगायो गालामा ।
मैँले पनि मुखभरिको थुकिदिएँ त्यसको अनुहारमा ।

छिट्टाछुट्टि उछिट्टिएर पानामा झ¥यो
र त बन्यो यो कविता ।

मेरा शब्दहरू कहिल्यै बिझ्न नहुने तिमीलाई ?

सजीव व्यङ्ग्य

क्याम्पसबाट (डेरा) फर्किने क्रममा
पुगनपुग (चुरोट)खर्च कटाएर
फुटपाथबाट (सेकेन्ड ह्यान्ड) एउटा किताब किनेँ ।

लेखिएको थियो—
क्याफेमा बसेर पुस्तक पढ्नुको मजा नै वेग्लै ।

पार्कमा (ठीङ्ग) उभिएर
(कोचाकोच) माइक्रो कुरिरहँदा
अरू (दुईचार) पानाहरू
(पल्टिएछन्) पढी भ्याएँ ।

आजप्रतिको मेरो प्रेम दृष्टिविहीन भएदेखि

हिजो के भयो, बिर्सिएछु ।
भोली के होला, मतलब लाग्न छोडेछ ।
आजप्रतिको मेरो प्रेम दृष्टिविहीन भएदेखि ।

दृष्टिविहीनहरूको यात्रा हुदैँन र ? अवश्य हुन्छ ।

म एउटा यात्रामा छु,
र मेरो यात्रामा
अघि पनि यात्री थिए
पछि पनि हुनेछन् ।

मैँले सायद कोहीलाई नभेटुँला
तर उनीहरूको सम्झना छ
प्रतिक्षा छ यात्रामा
जसले मलाई एक्लो महशुस गर्नै दिदैँन ।
आएर अङ्गालीहाल्छ ढ्याप्प !
पत्याउदैनौ ? हा, हा !

म बढी बोल्छु,
झुट बोल्दिन नि ।

केही नगरी यत्तिकै मर्नु भन्दा

हृदयमा भावना हुन्छ,
केही असाध्यै महत्वपूर्ण हुन्छ
ती लेखिनु पर्छ ।

एक पान्ना लेख्नलाई
दशौँ रात सोच्नु पर्छ ।
सोच्नलाई शब्द चाहिन्छ,
त्यसैले सयौँ पाना पढनु पर्छ ।

सोच्नलाई समय पनि चाहिन्छ ।
दिउँसो त साहुकै हो,
इमान्दार भइदिनु पर्छ ।
रात आफ्नो हो,
सुत्नु अघि केहीबेर सोच्नु पर्छ ।

विहान सुर्य त उदाउँछ, तर
त्यस अघिको अन्धकारलाई पनि विहानै भनिन्छ ।
त्यो प्रहर पनि आफ्नै हो,
उठेर पढनु पर्छ, लेख्नु पर्छ ।
जिउनु त साहुको लागि छदैँ छ
मर्नु आफ्नै सन्तानको लागि छ ।

विहान, दिउँसो, साँझ, राती,
हर प्रहर सम्झिनु छ यही ।
सोच्नु छ सधैँ, क्षमताअनुसार नै सही
“चुप लाग्नु भन्दा बोल्नु ठीक
 केही त अवश्य फरक पर्छ ।
 केही नगरी यत्तिकै मर्नु भन्दा,
 पढेरै, सोचेरै, लेखेरै मर्नु छ ।”

जगिरे मित्रहरुलाई

ठीक छ,
सब रामो हुन्छ भन्छौ,
तिमी सोच्दैनौ जस्तो छ, हो ?

पत्रिका पढदैनौ जस्तो छ ?
समाचार पनि पक्कै सुन्दैनौ त्यसोभए?
के गर्छौ त के ?
बल्ल बल्ल पाएकै रोजगारीमा अल्मलिन्छौ ?
कमाएको छु, जोगाएको छु भन्ठानेर मख्ख पर्छौ ?
कतिञ्जेल पुग्छ तिमीलाई यसरी ?
तिमीलाई पुग्ला । तिम्रा सन्तानलाई ?
तिमोजस्तै दुरुस्त सङघर्ष तिमा छोरानातीले पनि गरिरहुन ?
त्यस्तो पनि राष्ट्रको सम्वृद्धी हुन्छ ?

किन बोल्दैनौ ?
तिमीलाई राष्ट्रको दुःख आफ्नो लाग्दैन ?
कि तिमीलाई राष्ट्र नै आफ्नो लाग्दैन ?
स्यालहरूको राजमा कतिञ्जेल भेडा बन्छौ ?
प्रत्येक दिन हिजोजस्तै छ,
प्रत्येक विहान अन्धकार छाउँछ,
तिमीले देखेका छौ, बराबर भोगेका छौ ।
आफ्नो लागि त ग¥यौ जेजस्तो,
देशमै भएर पनि,
मुग्लान नै गएर पनि ।
तर तातेताते गरेर हिँड्न सिक्दै गरेको
तिम्रो छोराको भविष्य के होला ?
तिम्रो विगत जस्तै ।
तिमीलाई चित्त बुझ्छ ?

अनि किन अझै
सोच्न थाल्दैनौ,
बोल्न थाल्दैनौ,
लखेटेर धपाउदैनौ
अवसरवादी, अनैतिक, आपराधिक स्यालहरूलाई ?

तेस्रो व्यक्तिलाई दोष नदिई

तेस्रो व्यक्तिलाई दोष नदिई
तिमी र म
यो चिया
सकौँला निल्न कसरी
सहिद दिवसको दिनमा
मार्दै बात
देशविकासको
समृद्धीको ?

महाकविको सम्झनामा

देख्नलाई जोरनयन काफी छन् त ?

मेरा आँखाले म तिमीलाई देख्छु,
आफैँलाई सक्दिन ।
अगाडीपछाडी, दायाँबायाँ, माथितल सबैतिर सक्छु,
एकैसाथ सक्दिन ।

टुक्राटुक्रा हेरेर म संसारको विवेचना गर्छु ।
स्वयं भ्रमित हुन्छु,
तिमीलाई पनि डो¥याई ल्याउँछु ।
—
माथि नीलो दलदलमा भास्सिएकी
अर्धगोलाकारको पनि जोरनयन होलान् ?
पक्कै होलान् ।

दृष्टिविहीन थिइन् त किन पुजिन्थिन् ?


मैँले टेकेको माटो
र उनी
एकै उमेरका
तर के
सम्पूर्ण विश्वइतिहास
उनलाई थाहा होला ?
उनले देखेकी होलिन् ?

अवश्य छिन्
नत्र किन पुजिज्थिन् ?

—

उनी यही समाजमा जन्मिए,
हुर्के र बितिगए ।
महाकवी कहलाइए ।

उनी देखिए, तर हेरिएनन्,
उनी हेरिए, तर देखिएनन्,
बाचुञ्जेल ।

मगजभित्र
र समाजभित्रको
कालो निख््रयाउन
हरसास
असंसाारिक भएर
कोरा कागजहरू रगटिरहे ।

असल, अटल थिए उनी
त्यसैले देखिएनन ।
त्यसैले हेरिएनन ।

जब प्रयत्नहरू भयो
धेरै ढिलो भसक्थ्योे ।

त्यो त उनको महानता थियो
र समाजको—
तिमो, मेरो—
नीचता

मरणोपरान्तका साह्रा सम्मानहरू उनले
ग्रहण गरे ।

आँसू र पसीनालाई मशी बनाएका उनले
छोटो बाटो हिँडन चाहेनन ।
कहिल्यै थाकेनन पनि ।

विना मुस्कान
क्रुर समाजवीच फुलिरहे ।

हाँस्न चाहेनन
मात्र बाँच्न खोजे
अनि बेला आयो—
उनी आर्यघाटमा निदाए ।
उनलाई बिउँझाउने प्रयत्न भयो
खुब रुवावासी चल्यो

तब,
मुर्दा उनको जोरनयन खुब रसायो !

औँलाहरूमा कलम भएको भए सायद
उनको लासले पनि कविता लेख्थ्यो होला
अन्तिम कविता ।

जसले समाजलाई फेरी निथु्रक्कै भिजाउथ्योँ
अनि मृत उनका अधरहरूलाई खुब हसाउथ्योँ
  पेट मिची मिची हँसाउथ्यो ।

शब्द महीमा

शब्दहरूमा रोएको छु ।
भविष्यमा,
अतीतमा,
यताउता,
पेण्डुलमझैँ गरिरहँदा
आँखाबाट छछल्किएर
त्यसैले कति कविताहरू कोरिए होला ।

अस्पतालको इमेर्जेन्सी वार्डभित्र
लगिदैँ गरेको विरामीको
एकै क्षणको मुस्कान
सापटी लिएर
भावनाहरू श्रृङगारेको छु
र त कथिए होला
कल्पनाहरू
कथाका रूपमा ।

शब्दैहरूमा सधैँ देखेको छु
जगतका वेदनाहरू ।
शव्दैहरूमा सुनेको छु
महानता, सुन्दरताहरू ।

शब्दै बाच्छन्
नाच्छन्, गाउँछन्,
शब्दै हरेक राता
बाझ्छन्, जुध्छन् ,
शब्दै राक्षस, शब्दै देवता भइदिन्छन् ।

निष्ठूरीको नाम पनि,
प्रियतमको मात पनि,
मनभित्रका कुनाकुनामा
शब्दकै आकृतीमा,
यदाकदा कोरिएका हुन्छन् ।

शब्दमै भोगेको छु
वर्तमानले भुतालेर बेजतीको हिलोमा पछारेको बेला
नखुकिनारमा अबेर रातीसम्म बसेर
शब्दैले धोएको छु ।

पढिएलान् भन्ने आशमा
रक्तिम भई शब्दैमा बगेको छु,
छरपष्ट व्यथित पानाहरू
यथावत राखी
थप पानाहरूमा
अझै
रगताम्मे शब्दहरू नै छाद्दैछु





पढिएलान् र ?



साच्चैँ ?



हा ! हा ! हा !

के छैन देशमा ? सब थोक छ ।

देशमा गणतन्त्र छ, धर्मनिरपेक्षाता छ,
देशमा सँघीयता पनि छ, ।

देशमा सरकार छ, स्थाई छ
केन्द छ, स्थानीय पनि छ

देशमा सविधान छ, जे छ जस्तो छ
देशमा अदालत छ, कानुन र ऐन छ
जाबो न्याय सिवाय देशमा
के छैन ?
सब थोक छ ?

फुट, गुट, लुट !
सुट, बुट, झुट !
आम्मै......
नबोल, नबोल, सुत !
कमाऔँला न्यानो, सुत, सुत !

सब पुग छ,
अपुग नाथे सपना न हो !
सब पुर्ण छ,
अपुर्ण खाते योजना त हो !

ज्ञान छ,
चेतना हराएको जाबो हो
सङल्प छ,
उदाहरण माात्र नपाएको हो

रहर छ, बाध्यता छ
इच्छाशक्ति जाबो कम हो
यात्रा छ, कठिना छ
अनुशासन छैन त के भो ?

देशमा राजनीती छ
भाषण छ, भेला छ
पजातन्त्र छ, नेता छ
जनता छ, स्वतन्त्र छ
घोषणपत्र छ, चुनाव छ
भोट छ, जसोतसो खस्छ
शासन छ, भष्ट छ

जाबो परिवर्तन सिवाय देशमा
के छैन देशमा ?
सब थोक छ ।