सूर्यमुखी भनेर अर्ह्याएकी थियौ,
सयपत्री मेरो गाउँघरमा पाइन्छ ।
हुन्छ, काम चल्छ भने
चार अम्मलजति भेट्नोसहित चुडेँर
जतनसाथ दुईचार डोका
चिसो जुटले बेरबार पारेर
भोलि सबेरैको दुधगाडीमा
तिम्रो नामनम्बर लेखाएर पठाँउला ।
मङ्सिरको सयपत्री विछट्टै मदमत्त वसाउँछ ।
बोटमै ओइलाउन पाउने यिनका नियतीलाई
सौभाग्य ठान्छु कहिले म,
कहिले उमङ्गको तिरस्कार ।
हरेकका आ-आफ्नै व्याख्या
तर पनि खेतबारीका डिलकुना यताउती
सुनौला घामका न्याना किरणमुनि
नाँङ्गा बुढापाते बोटमा
फाट्टफुट्ट पहेँला टाटाजस्ता भएर
जबरजस्त अटेरी लिसोजस्ता,
कसैले नदेखुन भनेर लुकेर रहेको जस्ता,
रातभर सगाँलेका शित
छातीभरी सुकाउँदै
अर्को एक दिन
जगतको सुन्दरता पिएर
जोडीजुरेलीका नाँचगान सित्तन चपाउँदै
केही थुगाँहरू हासिँरहेछन्, टिपिदिन्छु;
तिम्रो भोक नमार भन्छु म ।
No comments:
Post a Comment