Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

रात मेरो हो

रात मेरो हो

मसँगबाट तिमी जेसुकै पनि विनासङ्कोच लैजान सक्छौ । म तबसम्म केही भन्ने छैन (यहाँसम्म कि म कुनै वास्तासम्म पनि गर्ने छैन) जबसम्म तिमी मेरो, नितान्त मेरो, रात्रीको सन्नटामाथि आँखा लगाउँछौ । हो, म तिमीलाई मेरो रातीहरुको सन्नटा मबाट खोसेर लग्न दिई आफूलाई गरीब बनाउन कदापी दिनेछैन । म आफ्नो बचावमा जे पनि गर्न सक्छु, चाहे एकान्तमा पछि मैले पछुताउन नै किन नपरोस् । म मेरा दिनहरु अरुकालागि बाँच्दछु । परिवार, छोराछोरी, श्रीमती, हाकिम, ग्राहक, साथीभाइ, आफन्त, पेट्रोल घिच्ने थोत्रा पाङ्ग्रेघोडा, ल्यापटप, सेकेन्डह्यान्ड स्मार्टफोन, जम्बो (मेरो पाल्तु कुकूर), टिम्बा (छिमेकीको चोर बिरालो), छोराछोरीको होमवोर्क, श्रीमतीको किच्किच्, आदीआदीमै मेरो दिन व्यतित हुन्छ तर पनि म कुनै टाउको दुखाइ गर्दिन । किनकी मैले भनिहालेँ दिनहरु मेरा होइनन् । रातहरु मेरा हुन् । आरामदायी, विलासपूर्ण रात्रीको सन्नटाको कुरा गरिरहेको छु म, जुन मेरो हो । नितान्त मेरो ।

रात्रीकालीन अन्धकारले समयलाई दुई टुक्रा पारिदिन्छ । एउटालाई हामी दिन भन्छौँ, जसलाई सूर्यले उज्यालो दिन्छ, अनि अर्कोलाई रात भन्छौँ । जब सूर्य अस्ताउँछ, रात सुरु हुन्छ । सूर्यको उदयसगँै रातको अन्त्य हुन्छ । यो नै पृथ्वीको आदीदेखिको धूर्वसत्य हो । र यसरी नै दिन र रात— प्रकाश र अन्धकार— बीचको लडाइ आदीदेखि नै जारी छ । यो युद्घको अन्त्य परिकल्पनामा समेत सम्भव छैन । 

र मैले मेरो भनेर दाबी गरिरहेको रातीलाई मैले मौलिक पारामै परिभाषा दिएको छु । एउटा सूर्य डुबेबेलादेखि अर्को नउदाउञ्जेलसम्मको समय नै मैले मेरो भनेको हूँ । हो, मैले अन्धकार मेरो भनेको हूँ । विलासपूर्ण अध्याँरो ! भयपूर्ण, मायावी सन्नाटा । यो मेरो हो ।

अब म तिमीलाई कसरी प्रमाणित गरौँ यो मेरो नै हो भनेर । ल सुन — मलाई सानैदेखि यही लागिरह्यो कि यो नरमाइलो, उदाङ्गो उज्यालो हटेर रात्रीकालीन अँध्यारो मात्र मेरो निम्त्ति नै छाउँछ । एकपल्ट हजूरबूवाले पनि यस्तै भन्नु भएको थियो—
“ हेर, हेर बाबु !
          आइन् ऊ जून, तिमीलाई हेर्न
           मुसुक्क हाँसिदेऊ ।।
           
           आ’छैन एक्लै
           ल्याकि’छ कालो, तिमीलाई दिन
           लौ दुई हात थापिदेऊ ।।”

अनि फेरि आजसम्म मभन्दा पहिला “राती मेरो” भनेर कसैले पनि त दावा गरेको छैन । पहिलो नै पुरष्कृत हुनुपर्दछ भन्ने सर्वव्यापी मान्यता हो । जसरी न्यूटन भए । उनको गुरुत्वाकर्षणको  सिद्घान्त पत्ता लाग्नुभन्दा पहिले रुखबाबाट स्याउ झरेर आकाशतर्फ जान्थ्यो भन्ने होइन, जमीनमा नै झथ्र्यो । जब पहिला न्यूटनले गुरुत्वाकर्षणको रहस्य पत्ता लगाए, तब उनले उक्त सिद्घान्त “मेरो” भने, र यसै कारण आजसम्म पनि हामी “न्यूटनको गुरुत्वाकर्षणको नियम” भन्छौ । त्यसैले मैले मेरो भनिसकेपछि यो मेरै हुन्छ । यदि कसैले यो मसँगबाट खोसेर लैजान खोज्छ भने उसलाई थाहा हुनेछ कि मेरो सुकेको हड्डीमा लुकेर रहेको बल ! म पछि हट्ने खालको मध्य हैन । हार मान्न कहिले जानेकै छैन । पटकपटक हारेको छु, तर कहिल्यै हार्न जानिन । विजय हुन सक्छु भन्ने मनमा हरदम लागिरहन्छ, अनि हातपाखुरा पनि सक्षम छन् । म किन सक्दिन ? मात्र मलाई रातहरु आफ्नो बनाईराख्नु छ । तिमीलाई पनि त थाहा छ इच्छाशक्तीमा कति ताकत हुन्छ ?

अन्धकार दानवहरुको हो, जसरी दिन मानवहरुको हो । दानव र मानव मानिसकै दुई अनुहारहरु हुन् । एकै पटकमा दुुवै देख्न असम्भव हुन्छ र यहाँ यस्तो कुनै नियम छैन कि दिन मानवको, रात दानवको हुनुपर्दछ । तर यसरी नै हामी साधारणतया भन्ने गर्छौ । कसैलाई कुनै आपत्ती छैन । त्यसैले म पनि त्यसै भन्छु । तर आखिरी विन्दु यही हो, रातको विलासपूर्ण, आरामदायी सन्नाटा मेरो मात्र हो ।

रातीहरु चीसा पनि हुन्छन् । कहीँकहीँ कोलाहलपूर्ण र निस्सासिदोँ पनि हुन्छ । तर त्यस्ता रातहरु मेरा होइनन् । न्यानो, आरामदायी, विलासपूर्ण शून्यता मात्र मेरो हो । जुन समयमा म जे पनि गर्न सक्छु । म नाङ्गै फनफनी एउटा खुट्टा उचालेर नाच्न सक्छु, रित्तिएर लडिरहेका बोतलहरुसँग लडिबुडी गर्न सक्छु । विनासङ्कोच शिवबुट्टीको धूवाँमा लठ्ठिएर एकोहोरो जूनलाई टोलाएर अनेकौँ तर्कना खेलाउन सक्छु । गोप्यमा गरिने भएको कारण एउटा कार्यले अर्कोलाई होस्याउने गर्छ । म अझ जोशिन्छु । भित्रैदेखि रातको राजा म नै हूँ जस्तो लाग्न थाल्छ अनि मलाई कसैको पनि सङ्कोच वा सन्त्रास लाग्दैन । ममाथिका हूकूम र आदेशहरु रातको समयमा अपाहिजझैँ निरिह बनिदिन्छन् । आग्रह पनि त्यस्तै हो । काले, पाटेहरुले पछाडी कुरा काटेर त मेरो छुसीसम्म पनि हल्लिदैन । आखीर रात मेरो नै हो ।

केके हुदैँन रातमा । झ्याँइझ्याँइ बाजा बजाएर उल्लासपूर्व नाटक गरी भित्र्याइएको चेलीको कौमार्य तोडिने रातमा नै हो । त्यही समयमा छिमेकी बिधवाको मन भतभत उम्लिन्छ, र उनी कोठामा बत्ती बाल्दैनिभाउदैँ गर्छिन् । श्रीमतीसगँ एक निन्द्रा सुतिसकेका बोकेन्द्र दाइ बिधवाको कोठामा बल्दैमर्दै गरेको बत्ती देखेर चिताउदैँ मुसुक्क हास्छन् । ठूल्दाइ धोकेन्द्र मीठू भाउजूको भट्टीबाट राती अबेर काले, पाटेहरूसगँ कुस्ती खेल्दै घर आइपुग्छन् र बाकीँ भएको रीस भाउजूमाथि झम्टिएर पोख्छन् । परीक्षाको लागि रटिरहेको उनको एघार बर्षे छोरा भन्दै हुन्थ्यो, “मदिरापान खराब आचरण हो ।” उसले थोप्पो केही बुझेकै हुन्थेन । उता सोही कोठामा उसकी आमाले कुटाइ खाइरहेकी हुँिथन् ।

छोरा दौडदै अर्को कोठामा दिदीलाई अर्थ सोध्न जान्छ । दिदी खाटमा उपरखुट्टी लगाएर कानमा तारवाला डिजिटल ठेडी कोचेर च्याठ्ठीच्याठ्ठी फोनमा कुरा गरिरहेकी हुन्थिन् । “दिदी, मदिरापान र आचरण भन्या के हो ?”
“जा तेरो बाउलाई गएर सोध ।”
भाइलाई मनमा लाग्छ “यो कसरी नराम्रो बानी हो र ?” उसले सोध्ने चेष्टा भने यसपटक गर्दैन ।

माइला दाजु टोकेन्द्र व्यापारी हुन्थे । अब व्यापारको हिसाबकिताबले उनलाई दिनरात टोकिरहने, अनि बदलामा उनी आफ्ना आसामीहरूलाई टोक्थे । फुर्सद नै हुन्थेन । कि उनले टोक्थे, कि अरूले उनलाई टोक्थे । तर टोकाटोक गरेरै भए पनि उनलाई कमाउनु थियो । गाडी किनेको कर्जाको किस्ता, अमेरिका जान भनेर छोराको लागि गरेको खर्च, नबिकिरहेको जमिन, महगोँ ब्याजदर, बढ्दो भन्सार, कठिन प्रतिस्पर्धा, कामदारहरूको घुर्की, परिवारको फरमाइस, सुविधा र विलाशिनता..... । टेन्सन दुर गर्न टोकेन्द्र दाइ राती सधैँ दोहोरी हाउसमा नाचगान गर्न जान्छन् । दलदले हिलोमा मोटो गाई ! जुकाहरू टासिँहाल्छन्— अँठ्याऊँअँठ्याऊँ लाग्ने भएर बसिरहेका जुकाहरू । भाउजूलाई उता अर्कै पीर । रातीहुदोँ खेताला खोज्नु पर्ने । आफ्नो पराया भएपछि के गर्नु त ?

कान्छो भाइ पोकेन्द्र्रको भने मती सप्रेछ क्यारे ! अस्ति भेट्दा पासपोर्ट बनाएर उड्छु भनेर भन्दै थियो । त्यसैको निम्त्ति पाँच हजार रूपैँया पनि मागेर लगेको थियो । साच्चै पासपोर्ट बनाएर पखेटा हाल्छ कि यतै ब्राउनको पोका फोर्न थाल्छ । पोका फोर्दै गरेको भए त्यसले पनि रातकै समय उपयोग गर्दो होला । तर त्यो अञ्जान छ । रातको समय सिर्फ मेरो मात्र हो । 

(कत्राकत्रा षडयन्त्रहरू रातकै समयमा मञ्चन भएका छन्— ०५८ को दरवार हत्याकाण्ड, जङ्गेको कोतपर्व....... । सानातिना चोरीलुटपाटलाई त अन्धकारको सहारा चाहिन्छ !)

रातको समयमा केके हुन्छ त्यस्को बेलिविस्तार त हररात आकाशमा हिच्किचाउदैँ देखापर्ने जूनलाई मात्र थाहा हुन्छ । त्यही हिच्किचाहटकै कारण त उनी बेलाबेलामा कालो पृष्ठभूमीमा कालै भएर बिलाउँछिन् । रातको समयमा पनि दिनमाझैँ पृथ्वी भइरहने हो भने जूनले कहिल्यै अप्ठ्यारो मान्ने थिइनन् । सधैँ पूर्णिमाको प्रकाश छाइरहने थियो । अहिले जुन पूर्णिमा छ त्यो देखावटी मात्र हो । यसमा कुनै सत्यता छैन । नियमले बाध्य बनाएको लाचार कार्य हो, जसले चन्द्रमालाई अर्को औँसीमा झन खिज्याँउदछ ।

तर चन्द्रमाले मुख खोल्दिनन् । उनले पनि यही सिकेको हुनुपर्छ— चुप लाग्नुपर्छ, बोल्नुहुदैँन । जहाँ बोलीको कदर हुदैन, जहाँ बिनाअर्थका शब्दहरूले बोलीचाली गरिन्छ र जहाँ कुनै पनि विश्वविद्यालयमा डिग्री नपढाइने भएको कारण मानवीय संवेदना र भावनाको कुनै मूल्य हुदैँन, त्यहाँ बोल्नुभन्दा नबोल्नु नै साह्रै उपयुक्त हुन्छ । सिकेको कुरा लागु गर्छु भन्न त पाइयो । हाम्रो प्रजातन्त्रमा !

तर त्यो जूनले पनि त थाहा पाइराख्नु प¥यो कि रात मेरो हो । रातको विलाशपूर्ण, आरामदायी सन्नाटा विल्कुल मेरो हो । हुन त लाटो हुलाकी के कामको ? त्यही पनि कानो मामा ठानेर टीका लगाइदिम न ।


No comments:

Post a Comment