समयले जिन्दगीलाई फ्याकल्याक्कै
दुई बराबर टुक्रामा भाँच्दैछ, हेर्दैछु ।
दुवै टुक्रामा एकुन्टा खुट्टा अल्झिएका छन्,
आखाँ बन्दै पनि छैनन्, म हेर्दैछु ।
गन्तब्य दुर्घटना हुन्छ, उखानै छ, म सम्झन्छु
तिम्रा किन रिसाकोहरू, किन चित्त दुखाकोहरू,
म निल्दछु
मैले दोस्रो दर्जा नागरिक बनेका क्षणहरू
मेरो आफ्नै माटोमा ।
म रुँदैछु
हाम्रा सन्तानहरूका लागि एक कविले लडेको संग्राम,
यही हाम्रो आफ्नै माटोमा ।
ए मेरा आफ्ना बन्न कर लगेकाहरु हो !
म बोलाउँदैछु तिमीहरूलाई,
अब फेरी कहिल्यै नबोलाउने शर्तमा ।
ए मेरा आफ्ना बन्न रहर गरेकाहरू हो,
म तिमीहरूलाई पनि बोलाउँदैछु,
अब फेरी कहिल्यै सम्बोधन नगर्ने शर्तमा ।
एउटा मृत्यु भएको छ भरखरै,
भोज गर्नुपर्छ, मोज गर्नु पर्छ,
झट्ट आओ ।
ए नजन्मिएकाहरू ! तिमीहरू पनि आओ ।
मरिसकेकाहरू! तिमीहरू त झन आओ ।
सबैलाई छेतोखेलो पुग्छ, आअो, आओ !
यहाँ भर्खर एउटा लाश लडेको छ
भोज गर्नु पर्छ, मोज गर्नु पर्छ ।
No comments:
Post a Comment