कोख एउटै बाँडेको अन्धकार एउटै,
सालनालको जह्रा एउटै, पिएको
पहिलो घुट्का रगतको एउटै, पिएको
पहिलो घुट्का पानीको मूल एउटै निस्वादमा,
पछि हारालुछ गरी चाटेको नुनिलो मासु एउटै,
लुछेको बाक्लो जगल्टा एउटै,
झुन्डेको गर्द्दन एउटै, नाचेको तिघ्रा एउटै,
टेकेको छाती एउटै, धड्केको सपना एउटै,
बाँडेको अोछ्यान, अोडेको न्यानो एउटै,
उफ्रेको आँगन, पल्टेको चऊर एउटै,
सिङ्गो युग मरिसकेको छ नजन्मिदैँ,
कोखैको कालोले निलिसकेको छ,
कठै मेरो देश, कठै मेरी आमा !
म लाखौँ दाजु समय, मरिसकेको छु ध्वजाध्वजामा
च्यतिएको जिन्दगी टालटुल गरी म बुँख्याचा
बाँच्छु कोसी र गण्डकीबीच नैँ खाल्डो ताछेर,
चोक्टा चोक्टा मेरो लुछिइसकेको छ
अन्धिएको स्वयम्भूमुनी, लुटिएको पशूपती छेवैमा पोलिइसकेको छु म सेकुवा,
फेरी पनि पोलिन्छु धरहराको फेदमा,
फर्काइ फर्काई पड्काइन्छु म साह्रै सस्तो
आदर्श रत्नपार्कको ठेलमठेल कुनामा ।
त्योभन्दा पर पुग्छु भन्छु, म लाखौँ भाइ समय,
भाडाको पुष्पक विमान चढेर एकैछिन,
म गएको छु धूवाँ उडाउदैँ, रामलछुमनसगँसगैँ,
युद्ध लड्न गधा बोकेर, कति कति असङ्ख्यपटक,
म गएको छु युद्ध लड्न पुच्छर माथिसम्म सुर्केर
म गएको छु धेरैधेरै पटक रावणको बध गर्न ।
एउटा मानिसभित्र धेरै रावणहरू छन्,
तिनीहरूलाई बध गर्न
स्वेतप्रेतहरू सगँसगैँ मिलेर यसपटक,
म उडिसकेको छु पश्चिम आकाश,
धेरैधेरै नफर्किने गरी, घर नबनाउने गरी,
बिहे नखुवाउने गरी, पास्नी मुख नदेखाउने गरी,
म गइसकेको छु युद्धैयुद्धले थाकेका कारण
फेरी पहिलो युद्ध लड्न म गइसकेको छु,
आशिर्वाद रातो पोतेर निधारमा,
कामना सेतो बेरेर घाँटी वरीपरी
म गइसकेको छु गोडासोडा ढोगीवरी ।
No comments:
Post a Comment