Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

 मसँग धेरै असहमत हुनेछन् श्रीमान् ! तर ठीक छ, सर्वसम्मती इतिहासमा कसैले भेटाएको छैन । 

परिकथाभित्रका महापुरुषहरूका समेत विरोधी हुनैपर्छ । सत्यको आड लिएर सत्यलाई नै पुनः आड प्रदान गर्ने ती महापुरुषहरूले उनीहरूको विरोधीलाई परास्त गर्नैपर्छ, नतमस्तक पार्नैपर्छ । नत्र परिकथा सम्भव हुँदैन । जन्मिएर मरेका महापुरुषहरूको मात्र के कुरा ? स्वयंभूत र अजम्बरी देवताहरूले समेत प्रतिस्पर्धीहरूको राजनीति खेप्नु परेको दृष्टान्त धर्मग्रन्थभरि छ । 

सम्पूर्ण धर्मग्रन्थहरू र त्यहाँ भित्रका पानाभरि टाँसिएर रहेका देवताहरूभन्दा लाखौँ लाख वर्षअगाडि मानवताले जन्म लिएको तथ्य सवा एक्काइसौँ शताप्दीमा बाँचिरहेकाहरू समक्ष लुक्ने कुरा भएन । मानव रचित भएकै कारण धर्महरू होऊन् वा अन्य सबै काइदाकानुन, एकरुपता अनिवार्य हुनै पर्छ, तर सर्वसम्मती कदापी सम्भव हुँदैन, कम्तीमा व्यवहारगत !

सिद्धान्तमा त के सम्भव छैन ? मानवताले रामराज्य भोगिसकेकै हो, ‘जन्मेन्ट डे’ कुरिबसेकै छ  ! अझ धर्मै नमान्ने बहुसङ्ख्यकहरू पनि वर्गविहिन साम्यवादी ब्रह्माण्डको कल्पनामा लठ्ठ छन् । 

त्यसैले मानव सर्वसम्मती सिद्धान्तमा मात्रै सम्भव छ । व्यवहारको तहमा मानिस कहिल्यै पूर्ण एकताबद्ध हुन सक्दैन किनकी, हरारीले लेखिसकेका छन्, मानिस जति नै आधुनिक भए पनि ऊ भित्रको ‘जिन’ अझै पनि सभानाको अत्यन्तै कष्टकर र प्रतिस्पर्धी जङ्गली घाँसेमैदानमै बाँचिरहेको छ । त्यहाँ एउटा मानिसको आधारभूत उद्धेश्य (पहिला) आफू र (अनि) आफ्नो वगालको निम्ति अर्को एक छाक खाना जुटाउने र अर्को एक रात बढि बाँचेर अर्को नयाँ सूर्योदय देख्ने मात्रै हुन्थ्यो । 

आज पनि एक दिन बढि बाँच्नु नै जङ्गलमा रहेका हरेक जीवहरूको प्राथमिक उद्देश्य हुन्छ । एक दिन बढि बाँच्दै बाँच्दै तीनका सन्तान परसन्तानले समेत जगतमा निरन्तरता पाउँछन् । मात्र अर्को एक दिन बढि बाँच्नका निमित्त त्यस जीवले कुनै काइदाकानुनको पालना गर्न आवश्यक पर्दैन । किनकी त्यसलाई चेतना छ, एकको मृत्युपश्चात मात्र प्रकृतीमा अनेकको जीवन सम्भव हुन्छ । त्यसैले त्यो साह्र्रै असुरक्षित महशूस गर्छ, भिडमाझ जिउँछ र (विशेषतः भिडभित्रकै) अर्कोलाई विरलै विश्वास गर्छ ।

सय वर्षको आयू अधिकारझैँ ठान्ने आजका समस्त मानिसको उद्गम थलो त्यही जङ्गलराज हो । भलै उसले जङ्गल फाँडेर सभ्यता बसालेको हजारौँ हजार वर्ष भइसकेको छ, र उसले यो तथ्य लुकाउन पर्याप्त कोसिस पनि गरिसकेको छ । तर मानिसको अन्तरमनले, वा भनौँ ऊभित्रको जिनले, ठान्दछ कि आधुनिक सभ्यता र समाज पनि नयाँ प्रकारका जङ्गल नै हुन् । ‘सरभाइभल अफ द फिटेस्ट’ को नियम यहाँ पनि उत्तिकै लागू हुन्छ, र ‘फिटेस्ट’ रहन ऊ हर प्रहर ‘इभल्भ’ गरिरहेको हुन्छ ।

“किन इभल्भ गरिसकेको छैन ?” यो प्रश्न महत्वपूर्ण लाग्न सक्छ । तर यो प्रश्न असाध्यै महत्वहीन छ श्रीमान् । किनकी ‘इभलुसन’ गन्तब्य होइन, यात्रा हो । आजको मानिस हामी होमो सेपियन्स तीन लाख वर्ष अगाडिसम्म औचित्यमा नै थिएनौ । र अबको कयौँ लाख वर्ष पछि पनि हामी (यदि लोप भएनौ भने) अर्कै नया मानवको पुर्खा बनेर इतिहासको गर्तमा हराउनेछौँ ।

तसर्थ, मानवताको सेरोफेरो सेपियन्सको इतिहास वरिपरि मात्रै सिमित छैन । सेपियन्स अघिका र पछि अस्तित्वमा आउने सम्पूर्ण मानव जीवहरूको इतिहास पनि मानवता भित्र अट्नै पर्छ । श्रीमानसँग यस विषयमा पछि चर्चा गरौँला । तर आज विशेष दिन भएकाले विशेष सन्दर्भकै कुरा पहिला गर्नेछु । 

अमेरिकाले इरानमाथि आक्रमण ग¥योे भन्ने समाचार बिहान ओछ्यानमै पाएँ । एक देशले अर्को देशमाथि आक्रमण गर्दा के विशेष हुन्छ भन्ने श्रीमान्लाई लाग्न सक्छ । तर तेस्रो विश्वयुद्ध कुरिरहेको मेरो लागि आजको दिन विशेष नहुने कुरै भएन । विस्तारै यो युद्ध क्षत्रीय बन्नेछ, र क्रमशः भयानक विश्वयुद्धको रूप लिनेछ भनेर जानकारहरू इन्टरनेटभरि फलाकिरहेका छन् । तीनका मुखमा दुध र भात !

परार रसियाले युक्रेनमा आक्रमण गर्दा पनि उनीहरू यसै भन्थे । त्यस बेला मैले उनीहरूलाई आँखा चिम्लिएर पत्याएको थिएँ । पुनः निराश हुनुपर्ने सम्भावनाहरू यथेष्ट छन्, तथापी यो पटक पनि मैले उनीहरूलाई पहिले जसरी नै अन्धो भएर विश्वास गर्ने जमर्को गरेको छु । यसका दुई कारणहरू छन्— 

पहिलो, विश्वास नगर्नलाई मसँग विकल्प नै छैन, मैले विश्वास गर्नै पर्छ । किनकी मानवताको इतिहास भनेकै ठूल्ठुला युद्धहरूको समयरेखा हो, आधुनिक सभ्य मानवको सोच्नुहोस् वा पौराणिक कालदेखिकै ।

दोश्रो, मैले यो पटक उनीहरूलाई पत्याइन भने अर्को पटक चाइनाले ताइवान हान्दा उक्त लडाइ पनि क्षत्रीय बन्दै विश्वयुद्धमा बिकसित हुनेछ भनेर हातमा तथ्याङ्क, सूचना हल्लाउँदै अघोर आत्मविश्वासका साथ उनीहरू प्रस्तुत हुने छैनन् । र एक एक गरी सबै आम मानिसले युद्धको आशङ्का माथि विश्वास गर्न छाडे भने अर्को विश्वयुद्ध कहिल्यै हुने छैन ।

मानिस किन युद्धजस्तो भयावह कलह चाहदैन ? यो बुझ्न असाध्यै सजिलो छ । युद्धका कारण रक्तपात र जनधनको ठूलो विनाश हुन्छ । जसबाट स्थापित मूल्यमान्यताहरूको जग फेदैदेखि हल्लिन्छ । बडो जतनले हुर्काई, बढाई, जोगाई राखेको (व्यैक्तिक र सामाजिक) नैतिकता प्रणालीमाथि औचित्यका कठोर प्रश्नहरू उठ्छन् । अस्थिरता निम्तिन्छ । तर मानिस किन युद्ध लड्छ ? विलाशको निम्ति यो प्रश्न उच्च कोटीको छ, तसर्थ श्रीमान्सँग विमर्श योग्य छ । 

मानवतामा जति पनि युद्धहरू लडिएका छन, विशेषतः तीन निहूँहरूमा लडिएका छन् भनिएको छ— स्त्री, सम्पत्ती र सिमाना ! यसैलाई नै आधार मान्ने हो भने मानिसको अन्तरमनमा वास गर्ने मोह, लोभ र अहंकारजस्ता व्यभिचारी भावनाद्वारा सृजित मानसिक असुरक्षाकै कारण मानिस हिंस्रक बन्छ । 

आध्यात्मिकजस्तो सुनिने मेरो तर्क श्रीमान्को वैज्ञानिक व्यक्तित्वसँगको विमर्शका लागि अपर्याप्त हुनेछ । यद्यपी सवा एक्काइसौँ शताप्दीसम्म आइपुग्दा मसँग पनि यथेष्ट वैज्ञानिक तर्कहरू सङ्कलित भइसकेका छन् । तसर्थ, श्रीमान्सँग अनुमती माग्दै म पर बढ्न चाहन्छु ।

पहिला श्रीमान् र मैले मिलेर मानिसको अन्तरमनलाई सूक्ष्म, अति सूक्ष्म गररे मसिनो गर्न आवश्यक छ । जसरी क्वान्टाम फिजिक्समा वैज्ञानिकहरूले पदार्थलाई कणमा र कणलाई थप अणुमा विभक्त गर्दै अणुको गुण र स्वभावका आधारमा पदार्थ स्वयंकै गुण र स्वभाव तय गर्छन, त्यसरी नै । 

मानिसको अन्तरमन मानिसको शरिर बाहिर हुने सम्भावना नै छैन, त्यसैले एउटा सग्लो मानिसको शरिरलाई नै तोड्नु पर्ने हुन्छ । त्यसपछि उसका अङ्गहरूलाई । यति गर्दा नगर्दै हामीलाई थाहा भइसक्छ कि हाम्रो प्रयोजनको लागि मुटू र दिमागवाहेक अन्य अङ्गहरू खासै महत्वका हुँदैनन् । त्यसैले अब मुटू र दिमागलाई मात्र थप मसिनो गरौँ । 

मासुको चोक्टा मात्र भएका कारण मुटू सजिलै कोषिकाहरूमा टुक्रा पदर्छ, जसलाई विज्ञानले कार्डियोमाइओसाइट्स नाम दिएको छ । दिमाग भने नसैनसाले जेलिएको हुने भएकाले न्युरोनमा, अर्थात दिमागको कोषिकामा विभक्त गर्न अलि झन्झट हुन्छ ।

दुबै कोषिकालाई थप धुलो पार्दा हामीलाई थाहा हुन्छ, दुबैको केन्द्रक न्युक्लियस हुन्छ । न्युक्लियसलाई थप धुलो पार्दै जाँदा प्रत्येकमा छयालीस्वटा क्रोमोजोम्स हुन्छन् । प्रत्येक क्रोमोजोम बराबर एउटा डिएनएको अणु हुन्छ । तसर्थ, एउटा मानव कोषिकामा जम्मा छयालीस्वटा नै डिएनएहरू हुने गदर्छ— तेइसवटा आमाको र बाँकि तेइस बुबाको योगदान । एउटा डिएनएमा अन्य तत्वहरू बाहेक न्युनतम दुई सय देखि अधिकतम एक्काइस सयवटा सम्म जिन हुन्छन् । जैविक विकासक्रमको जानकारी डिएनए  र विशेषतः यीनै अतिसूक्ष्म जिनहरूमा सुरक्षित हुन्छन् ।


तिमीले अब मलाई भेट्न नआए पनि हुनेछ ।

 तिमीले अब मलाई भेट्न नआए पनि हुनेछ ।

आत्मा—परमात्माको कथा साँचो हो यदि भने, वा मानिसको अदृश्य जह्रा प्रकृतीमै गाडिएको हुन्छ ठान्छौ भने, अब उप्रान्त मेरा सत्यहरू चराहरूले गाउनेछ, माटाहरूले उमार्नेछ, सत्य यदि हुन्छ मान्छौ भने । भेडा मानिस हुन सक्तैन, मानिस देवता नभई रहन सक्तैन, लुगा त सबैले लगाएकै हुन्छन्, हैन र ? तर नाङ्गै जन्मिएको पशूलाई कपडा लगाइदिँदैमा कदापी मानिस बन्दैन, लगाएको कपडा फुकाली नाङ्गिदैमा पनि मानिस देवता बन्दै बन्दैन, तर तिम्रा देवताहरू सधैँ किन अर्धनग्न नै हुन्छन् ? मेरा सवालहरू मैले मसँगै चितामा लगिजाने प्रण गरेको छु, मेरा सवालहरू मैले तिम्रै देवताहरूसँग गर्नेछु त्यसैले तिमीले अब मलाई भेट्न नआए पनि हुनेछ तिमीसँग बातचित मैले त्यो उदाउँदो सूर्य भएर गरेको छुु, फेरि एकपल्ट तिमीसँग बातचित म त्यो अस्ताउँदो सूर्य भएर पनि गर्नेछु तिमीले अब मलाई भेट्न नआए पनि हुनेछ । हाम्रा भलाकुसारीहरूमा मैले हामीले मानिस बन्नैपर्ने आवश्यकता पटक पटक प्रकट गरेको छु, पशू नै हामी रहिरहदाँ हुँदैन भन्ने तिम्रो शङ्का धेरै धेरै सुनेको छु, समानता सम्भव हुँदो नै रहेनछ ! वृक्ष रोप्नेले छहारीको आशा गरेको हँदैन, छहारी ताप्ने बानी परेकाले वृक्ष रोप्दै हिँड्दैन । कसैले नरोप्दैमा वृक्ष हुँदै हुँदैन भन्ने पनि होइन, हामी पनि ए–एउटा वृक्ष रोपौँ, मेरो मनसाय यत्ति थियो, किनकी एक्लैले रोपेको वृक्षबाट वन बन्दैन, वन नभई वनवास सम्भव हुँदैन वनवास नभई तिम्रा राम सम्भव हुँदैनन्, तिम्रा बुद्ध सम्भव हुँदैनन् । समय सापेक्ष हुन्छ, सत्य पनि, यति मानिसकेका छौ, अब संसार पनि सापेक्ष छ, तिमीलाई मान्नै कर लाग्नेछ । तसर्थ, एउटै संसारमा हामी कहाँ बाँच्दा रहेछौँ र ? आँखाले कैद गर्ने भूगोलको तस्वीर मात्र संसार होइन, यदि त्यसो हो भने पनि संसार झनै सापेक्ष हुनेछ, मेरो संसार तिम्रो भन्दा धेरै फरक रहेछ त्यसैले तिमीले अब मलाई भेट्न नआए पनि हुनेछ ।

आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई

आधा प्याला मात्र पिएर तिर्खा नबुझेजस्तो,

आधा गाँस मात्र चपाएर झन भोक जागेजस्तो

आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई

आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई


पहिले कहिल्यै नदेखेका आकृतीहरु हुन् कि, 

नसोचेका रङ्गहरू मात्र हुन् कि, मेरो निन्द्रा तर्साउने,

वा मेरो कल्पनाशक्ती सिङ्गै लुसिफरको लगाममा छ 

आफ्नै पखेटा दुई विशाल बोझ भएको छ त्यसैले, 

सिङ्गै आकाश खुम्चिएर पासो च्याप्दै झर्दैछ, त्यसैले । 


मैले झोसेको आगोको राप टाँसिएको मसँगै हुनेछ,

मैले बगाउनु परेको रगतको हिसाब बनेरै रहनेछ ।

रातका अँध्याराहरूले आँखा च्यात्न आउन पर्दैन

चितामा रोटी सेकेर टुक्रा टुक्रा भाग सबलाई पुग्दैन 


मानवलाई मानवता नै हो एउटा सिमाना,

मानवलाई मानव हुनु नै हो अर्को सिमाना ।

त्यसैले मलाई मानव भएर पुगेन, 

संसारलाई मानव मात्रले पुग्दैन ।

मैँले सम्झौता गरेर फर्केको हुँ त्यसैले

दानव हुन् कि देवता हुन् ती

हात मिलाएर फर्केको हुँ त्यसैले । 


आधा प्याला मात्र पिएर तिर्खा नबुझेजस्तो,

आधा गाँस मात्र चपाएर झन भोक जागेजस्तो

आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई

आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई

मैले वस्त्र फुकालिसकेको छु।

 ब्रह्माण्ड काँधमा बोकी हिँड्छ मानिस,

एक, दुई... ।

अन्तले अनन्त यसरी थामेको हुन्छ,

चाङमाथि चाङ, खापमाथि खाप,

असरल्ल,

एक, दुई... ।

कति पत्र पहिल्याउन सक्छौ तिमी,

तिमी आफै टाँसिएका छौ अनन्तभरी ।

यो माटोभरी, ढुङ्गाभरी,

यो पानीभरी, हावाभरी,

मेरो मनभरी, शरिरभरी ,

कति पत्र पहिल्याउन सक्छौ तिमी ?

तिमी आफै टाँसिएका छौ अनन्तभरी । 


सङ्गीत तिमीले चोरेका थियौ पक्षींहरूको ।

ती पंक्षीहरू अझै उस्तै गाउँछन्,

आउँछन् मेरो झ्यालबाहिर, उफ्रन्छन्, नाच्छन्

यीनकै नृत्य पनि त तिमीले चोरेका थियौ ।

अनाम जङ्गली फूलहरूका सुगन्ध

र फलहरूका स्वाद तिमीले चोरेका थियौ

ती पंक्षीहरू सँगसगैँ बथानमा हौसिएर 

चोरेका पनि थियौ शारदीय तेज

र त सम्भव छ तिम्रो सौन्दर्य

र नै त सम्भव छ मेरो प्रेम !


तिम्रो इतिहास मलाई रहस्य,

मलाई अध्ययन, मलाई रूचि

जति पर जान्छौ तिमी, त्यती वर तानिन्छौ वस् !

मैँले आँखा चिम्लिसकेको छु

मैले वस्त्र फुकालिसकेको छु।

मलाई भयङ्कर गर्व छ

 दाम्लोको विद्रोहमा बित्छ योवन पाल्तुको ।

असफलताले प्रेम गँठ्याउँछ दाम्लोसगैँ

बुढो हुन हुन लाग्दा ।


लगामको आशाले खुट्टामा लुट्पुटिन्छ भुस्याहा

तिरस्कारले सिकाँउछ आँखा चिम्लेर चाट्न सुस्तरी

स्वतन्त्रताको घाउ ।


पाएर नपाउनु र नपाएरै पाउनु

दुबै एउटै आखीर,

पाएर खुसी मिल्छ या नपाई ?


प्रापक हाँस्छ, सुनाउँछ । अप्रापक लुकाउँछ, मुस्काउँछ मात्र ।

कति अमल बढीघटी मुख च्यातियो 

मानक कसरी हुन सक्छ खुसीको ?


र फेरि,

खुसी अत्यावस्यक छ जीवनमा ? 

बक्वास!


विद्रोह आवश्यक छ, आशा आवश्यक छ ।

मेरा कठिनाइमा, परिस्थितीको जटिलतामा,

मलाई भयङ्कर गर्व छ ।

भर्खर निदाएको मात्र थिएँ

 भर्खर निदाएको मात्र थिएँ

हिजो मध्यरातमा आँधी हुरी चल्यो,

डाङ्डाङ्, डुङ्डुङ्, हार्र, हुर्र !


ढोका नलगाई सुत्ने बानी आफ्नो,

हुरी सरासर भित्रै !

पहिला भान्सा कोठामा पस्यो ।

तीन दिनदेखि नजलेको चुल्हो,

ढुसी उम्रिसकेका उब्रेपाब्रे,

जुठाभाँडा असरल्ल भुइँभरी,

साङ्लालाई मनपरी भतेर,

पानी खान्छु भन्दा समेत चोक्टै चोक्टा ।


रिसले हुन्हुनिँदै हुरी

मेरो अध्ययन कोठामा छिर्यो ।

रहरले भित्ताजत्रै बनाएको

मभन्दा आधा उमेरको मेरो बुक-सेल्फ,

जस्को पनि आधा उमेर खुब सक्रिय बित्यो

र रित्तिन थालेको भर्खरभर्खर थियो,

मिहिन दृष्टिले केलायो ।


निष्प्रभावित मुद्रामा दाह्री कन्याउदै

थ्याच्च मेरो कुर्सीमा बस्यो,

कब्जियतले ग्रसित भएर थला परेको मेरो नोटबुक

टेबलबाट टिप्यो, टक्टकायो र पल्टायो ।

पहिलो पानामै ओठ चेप्र्यायो, कन्चेटी कन्यायो,

तर थप पाना कविताहरू पनि खरर्र पल्टायो ।


देब्रे हातको नाडी बटारिनु नै थियो, अहिल्यै कि एकछिन,

हस्याङ्फस्याङ्, जुरूक्क उठ्यो,

दाहिने हातले नोटबुक भँइमै छोडिदियो,

खुला रहेको झ्यालको खापालाई ढ्याप्प लगाइदियो

र फन्किएर कोठा बाहिर निक्लियो ।


यता म सुत्ने कोठामा पनि आउँछ

र त्यसलाई घोक्रयाएर

त्यो सगँबाट लय लुटी राख्छु

र घर फोर्दै हिँडेको आरोपमा थुनाइदिन्छु

भन्ने योजनाले

त्यसलाई ढ्याप्पा दिन

ढोका पछाडी आग्लो अँठ्याएर

तयार थिएँ ।


मुला हुरी त मेरो कोठामा नछिरी सरासर गइदिरा' !

म लोग्ने मानिस

 मध्यरातसँग मेरो निद्रै लुटेर खाऊ तात्तातै

वा मस्त निदाइरहेका मेरा आँखैमा बसेर कोपरकापर गर तिमी

मेरो भन्नु सबै निख्रिसक्यो,

सुन्न केही फिटिक्कै मन छैन ।


मैँले पटकपटक तिमीलाई सङ्केत गरिसकेँ

हिजोसम्म मात्र मेरो बाँच्ने इच्छा थियो ;

केही बेर अगि 

पाकेको हलुवावेद ठुङ्द‌ै गरेको बेजोडा जुरेली

गोडा चिप्लिएर आकाशमा पछारिएको थियो

र दृश्य देखेर म हाँसेको थिएँ ।

मेरो हाँसोलाई चोर औँला सोझ्याएर

मलाई झुठ्ठा साबित गर्छौ

र विवादले मेरोनिम्ति दालभात नाथे पनि पस्किदैन भने

विवादै गरेर मर्ने मेरो पनि कुनै भोक जिवित छैन ।

तिमी चाहे मेरो मुटू निचोरेर थोपा थोपा आँसु टकटकाऊ,

वा मेरो ऐनामा अनेक दाग लगाएर दुनिया जग हँसाऊ,

मेरो ऐय्या आत्था केही छैन ।


म लोग्ने मानिस,

त्यसै पापी ।

तिम्रा नजरमा

तिम्रा हरेक समस्या

मेरै कारण ।