मसँग धेरै असहमत हुनेछन् श्रीमान् ! तर ठीक छ, सर्वसम्मती इतिहासमा कसैले भेटाएको छैन ।
परिकथाभित्रका महापुरुषहरूका समेत विरोधी हुनैपर्छ । सत्यको आड लिएर सत्यलाई नै पुनः आड प्रदान गर्ने ती महापुरुषहरूले उनीहरूको विरोधीलाई परास्त गर्नैपर्छ, नतमस्तक पार्नैपर्छ । नत्र परिकथा सम्भव हुँदैन । जन्मिएर मरेका महापुरुषहरूको मात्र के कुरा ? स्वयंभूत र अजम्बरी देवताहरूले समेत प्रतिस्पर्धीहरूको राजनीति खेप्नु परेको दृष्टान्त धर्मग्रन्थभरि छ ।
सम्पूर्ण धर्मग्रन्थहरू र त्यहाँ भित्रका पानाभरि टाँसिएर रहेका देवताहरूभन्दा लाखौँ लाख वर्षअगाडि मानवताले जन्म लिएको तथ्य सवा एक्काइसौँ शताप्दीमा बाँचिरहेकाहरू समक्ष लुक्ने कुरा भएन । मानव रचित भएकै कारण धर्महरू होऊन् वा अन्य सबै काइदाकानुन, एकरुपता अनिवार्य हुनै पर्छ, तर सर्वसम्मती कदापी सम्भव हुँदैन, कम्तीमा व्यवहारगत !
सिद्धान्तमा त के सम्भव छैन ? मानवताले रामराज्य भोगिसकेकै हो, ‘जन्मेन्ट डे’ कुरिबसेकै छ ! अझ धर्मै नमान्ने बहुसङ्ख्यकहरू पनि वर्गविहिन साम्यवादी ब्रह्माण्डको कल्पनामा लठ्ठ छन् ।
त्यसैले मानव सर्वसम्मती सिद्धान्तमा मात्रै सम्भव छ । व्यवहारको तहमा मानिस कहिल्यै पूर्ण एकताबद्ध हुन सक्दैन किनकी, हरारीले लेखिसकेका छन्, मानिस जति नै आधुनिक भए पनि ऊ भित्रको ‘जिन’ अझै पनि सभानाको अत्यन्तै कष्टकर र प्रतिस्पर्धी जङ्गली घाँसेमैदानमै बाँचिरहेको छ । त्यहाँ एउटा मानिसको आधारभूत उद्धेश्य (पहिला) आफू र (अनि) आफ्नो वगालको निम्ति अर्को एक छाक खाना जुटाउने र अर्को एक रात बढि बाँचेर अर्को नयाँ सूर्योदय देख्ने मात्रै हुन्थ्यो ।
आज पनि एक दिन बढि बाँच्नु नै जङ्गलमा रहेका हरेक जीवहरूको प्राथमिक उद्देश्य हुन्छ । एक दिन बढि बाँच्दै बाँच्दै तीनका सन्तान परसन्तानले समेत जगतमा निरन्तरता पाउँछन् । मात्र अर्को एक दिन बढि बाँच्नका निमित्त त्यस जीवले कुनै काइदाकानुनको पालना गर्न आवश्यक पर्दैन । किनकी त्यसलाई चेतना छ, एकको मृत्युपश्चात मात्र प्रकृतीमा अनेकको जीवन सम्भव हुन्छ । त्यसैले त्यो साह्र्रै असुरक्षित महशूस गर्छ, भिडमाझ जिउँछ र (विशेषतः भिडभित्रकै) अर्कोलाई विरलै विश्वास गर्छ ।
सय वर्षको आयू अधिकारझैँ ठान्ने आजका समस्त मानिसको उद्गम थलो त्यही जङ्गलराज हो । भलै उसले जङ्गल फाँडेर सभ्यता बसालेको हजारौँ हजार वर्ष भइसकेको छ, र उसले यो तथ्य लुकाउन पर्याप्त कोसिस पनि गरिसकेको छ । तर मानिसको अन्तरमनले, वा भनौँ ऊभित्रको जिनले, ठान्दछ कि आधुनिक सभ्यता र समाज पनि नयाँ प्रकारका जङ्गल नै हुन् । ‘सरभाइभल अफ द फिटेस्ट’ को नियम यहाँ पनि उत्तिकै लागू हुन्छ, र ‘फिटेस्ट’ रहन ऊ हर प्रहर ‘इभल्भ’ गरिरहेको हुन्छ ।
“किन इभल्भ गरिसकेको छैन ?” यो प्रश्न महत्वपूर्ण लाग्न सक्छ । तर यो प्रश्न असाध्यै महत्वहीन छ श्रीमान् । किनकी ‘इभलुसन’ गन्तब्य होइन, यात्रा हो । आजको मानिस हामी होमो सेपियन्स तीन लाख वर्ष अगाडिसम्म औचित्यमा नै थिएनौ । र अबको कयौँ लाख वर्ष पछि पनि हामी (यदि लोप भएनौ भने) अर्कै नया मानवको पुर्खा बनेर इतिहासको गर्तमा हराउनेछौँ ।
तसर्थ, मानवताको सेरोफेरो सेपियन्सको इतिहास वरिपरि मात्रै सिमित छैन । सेपियन्स अघिका र पछि अस्तित्वमा आउने सम्पूर्ण मानव जीवहरूको इतिहास पनि मानवता भित्र अट्नै पर्छ । श्रीमानसँग यस विषयमा पछि चर्चा गरौँला । तर आज विशेष दिन भएकाले विशेष सन्दर्भकै कुरा पहिला गर्नेछु ।
अमेरिकाले इरानमाथि आक्रमण ग¥योे भन्ने समाचार बिहान ओछ्यानमै पाएँ । एक देशले अर्को देशमाथि आक्रमण गर्दा के विशेष हुन्छ भन्ने श्रीमान्लाई लाग्न सक्छ । तर तेस्रो विश्वयुद्ध कुरिरहेको मेरो लागि आजको दिन विशेष नहुने कुरै भएन । विस्तारै यो युद्ध क्षत्रीय बन्नेछ, र क्रमशः भयानक विश्वयुद्धको रूप लिनेछ भनेर जानकारहरू इन्टरनेटभरि फलाकिरहेका छन् । तीनका मुखमा दुध र भात !
परार रसियाले युक्रेनमा आक्रमण गर्दा पनि उनीहरू यसै भन्थे । त्यस बेला मैले उनीहरूलाई आँखा चिम्लिएर पत्याएको थिएँ । पुनः निराश हुनुपर्ने सम्भावनाहरू यथेष्ट छन्, तथापी यो पटक पनि मैले उनीहरूलाई पहिले जसरी नै अन्धो भएर विश्वास गर्ने जमर्को गरेको छु । यसका दुई कारणहरू छन्—
पहिलो, विश्वास नगर्नलाई मसँग विकल्प नै छैन, मैले विश्वास गर्नै पर्छ । किनकी मानवताको इतिहास भनेकै ठूल्ठुला युद्धहरूको समयरेखा हो, आधुनिक सभ्य मानवको सोच्नुहोस् वा पौराणिक कालदेखिकै ।
दोश्रो, मैले यो पटक उनीहरूलाई पत्याइन भने अर्को पटक चाइनाले ताइवान हान्दा उक्त लडाइ पनि क्षत्रीय बन्दै विश्वयुद्धमा बिकसित हुनेछ भनेर हातमा तथ्याङ्क, सूचना हल्लाउँदै अघोर आत्मविश्वासका साथ उनीहरू प्रस्तुत हुने छैनन् । र एक एक गरी सबै आम मानिसले युद्धको आशङ्का माथि विश्वास गर्न छाडे भने अर्को विश्वयुद्ध कहिल्यै हुने छैन ।
मानिस किन युद्धजस्तो भयावह कलह चाहदैन ? यो बुझ्न असाध्यै सजिलो छ । युद्धका कारण रक्तपात र जनधनको ठूलो विनाश हुन्छ । जसबाट स्थापित मूल्यमान्यताहरूको जग फेदैदेखि हल्लिन्छ । बडो जतनले हुर्काई, बढाई, जोगाई राखेको (व्यैक्तिक र सामाजिक) नैतिकता प्रणालीमाथि औचित्यका कठोर प्रश्नहरू उठ्छन् । अस्थिरता निम्तिन्छ । तर मानिस किन युद्ध लड्छ ? विलाशको निम्ति यो प्रश्न उच्च कोटीको छ, तसर्थ श्रीमान्सँग विमर्श योग्य छ ।
मानवतामा जति पनि युद्धहरू लडिएका छन, विशेषतः तीन निहूँहरूमा लडिएका छन् भनिएको छ— स्त्री, सम्पत्ती र सिमाना ! यसैलाई नै आधार मान्ने हो भने मानिसको अन्तरमनमा वास गर्ने मोह, लोभ र अहंकारजस्ता व्यभिचारी भावनाद्वारा सृजित मानसिक असुरक्षाकै कारण मानिस हिंस्रक बन्छ ।
आध्यात्मिकजस्तो सुनिने मेरो तर्क श्रीमान्को वैज्ञानिक व्यक्तित्वसँगको विमर्शका लागि अपर्याप्त हुनेछ । यद्यपी सवा एक्काइसौँ शताप्दीसम्म आइपुग्दा मसँग पनि यथेष्ट वैज्ञानिक तर्कहरू सङ्कलित भइसकेका छन् । तसर्थ, श्रीमान्सँग अनुमती माग्दै म पर बढ्न चाहन्छु ।
पहिला श्रीमान् र मैले मिलेर मानिसको अन्तरमनलाई सूक्ष्म, अति सूक्ष्म गररे मसिनो गर्न आवश्यक छ । जसरी क्वान्टाम फिजिक्समा वैज्ञानिकहरूले पदार्थलाई कणमा र कणलाई थप अणुमा विभक्त गर्दै अणुको गुण र स्वभावका आधारमा पदार्थ स्वयंकै गुण र स्वभाव तय गर्छन, त्यसरी नै ।
मानिसको अन्तरमन मानिसको शरिर बाहिर हुने सम्भावना नै छैन, त्यसैले एउटा सग्लो मानिसको शरिरलाई नै तोड्नु पर्ने हुन्छ । त्यसपछि उसका अङ्गहरूलाई । यति गर्दा नगर्दै हामीलाई थाहा भइसक्छ कि हाम्रो प्रयोजनको लागि मुटू र दिमागवाहेक अन्य अङ्गहरू खासै महत्वका हुँदैनन् । त्यसैले अब मुटू र दिमागलाई मात्र थप मसिनो गरौँ ।
मासुको चोक्टा मात्र भएका कारण मुटू सजिलै कोषिकाहरूमा टुक्रा पदर्छ, जसलाई विज्ञानले कार्डियोमाइओसाइट्स नाम दिएको छ । दिमाग भने नसैनसाले जेलिएको हुने भएकाले न्युरोनमा, अर्थात दिमागको कोषिकामा विभक्त गर्न अलि झन्झट हुन्छ ।
दुबै कोषिकालाई थप धुलो पार्दा हामीलाई थाहा हुन्छ, दुबैको केन्द्रक न्युक्लियस हुन्छ । न्युक्लियसलाई थप धुलो पार्दै जाँदा प्रत्येकमा छयालीस्वटा क्रोमोजोम्स हुन्छन् । प्रत्येक क्रोमोजोम बराबर एउटा डिएनएको अणु हुन्छ । तसर्थ, एउटा मानव कोषिकामा जम्मा छयालीस्वटा नै डिएनएहरू हुने गदर्छ— तेइसवटा आमाको र बाँकि तेइस बुबाको योगदान । एउटा डिएनएमा अन्य तत्वहरू बाहेक न्युनतम दुई सय देखि अधिकतम एक्काइस सयवटा सम्म जिन हुन्छन् । जैविक विकासक्रमको जानकारी डिएनए र विशेषतः यीनै अतिसूक्ष्म जिनहरूमा सुरक्षित हुन्छन् ।
No comments:
Post a Comment