किन लेखौँ
लेखौँ ? किन लेखौँतिम्रा सम्झनालाई विषय बनाएर
तिम्रो नामको शिर्षकमुनी
प्रेम विधाको अर्काे कविता ?
के प्रेमका कविताहरू धोका पाउनेहरूले पनि लेख्नुपर्छ ?
र धोका दिनेहरूले त्यो पढ्छन् ?
बुझछन् ?
मनन गर्छन् ?
अनि के हुन्छ ?
उनीहरू पग्लन्छन् ? भूतमा धकेलिन्छन् ?
ग्लानी ? पश्चाताप ?
मौनता ? लज्जा ?
गौरव ? स्वाभिमान ?
के हुन्छ ?
सायद, अज्ञानता ? ढोङ्ग ?
वा अन्य कुनै मनोवैज्ञानिक प्रक्रिया
जसलाई जस्ताको त्यस्तै उल्लेख गर्न मैले
शब्दकोशका पानाहरू अन्तहीन पल्टाउनु पर्छ ।
बयान गर्ने शब्दहरू उत्पादन गर्न
टाउकाको प्रत्येक कपाल एकएक कोट्याउनु पर्छ ।
र कसै गरी पनि चित्त नबुझे
कुनै चरी, फूल, रूख, जून, घाम, तारा
आदीआदीलाई प्रतीक बनाएर
मानसपटलको गहिराइमा पुगी
शब्दहरूको टुक्रालाई जोड्दै—काट्दै—जोड्दै
फुटकर हारहरू ल्याई कागजका पानामा छाप्नुपर्छ ।
हारपछि हरफहरू !
हरफहरू पुनः छाँटकाँट !
र तयार हुन्छ एउटा कविता ।
म गहिराइमा डुबेर लेख्छु एउटा कविता
र तिमी किनारावरैबाट उभिएर पढ्छौ ।
बुझेजस्तो गर्छौ ।
भन तिमी आफँै
किन लेखौँ—
तिम्रा सम्झनालाई बिष्य बनाएर
तिम्रो नामको शिर्षकमुनी
प्रेम विधाको अर्काे कविता ?
No comments:
Post a Comment