कोठीको मैलो विछ्यौनामाथि
लम्पसारिएर
दिनरात आफैँलाई बेच्नुपर्ने
निरिह चेलीको असाह्य क्रन्दन
जस्तै हो जागिरेको जिन्दगी ।
शून्य र एक भित्रकै सङ्घर्षैमा
घिस्रिएर—घिस्रिएर
पाइताला खिइएर प्वाल परेको
पुरानो महँगो जुत्ता
हो जागिरेको जिन्दगी ।
(सुगम स्थान टेक्ने रहर यस्तो
जागिरेको पाऊ हरे नियती कस्तो ?)
समग्र विद्यार्थीकाललाई
सर्लक्क भित्रभित्रै दोबारेर
एक परिवार पेट भन्दै
दिनरात, अहोरात्र
काँधमा भ्रष्ट संगठनको
दुषित संरचना थेगिदिएर नै
बितिदिन्छ आयू पुरै ।
अपराधलाई सघाउनु अपराध हो ।
भ्रष्ट संगठन हाँक्नु÷थेग्नु अपराध हो ।
गरीबलाई आवश्यकता र महत्वकांक्षाले अपराधी बनाउँछ ।
अपराधलाई गरीबहरूको अनुशरणले सर्वस्वीकार्य गराउँछ ।
अनि जे छ, चलिरहन्छ ।
गर्नेलाई, हेर्नेलाई, देख्नेलाई, सुन्नेलाई,
थाहा छ सबलाई यो अपराध हो भनेर
तर पनि जे छ, चलिरहेकै छ ।
एउटा जागिरे र एउटी वेश्या
एकसाथ बेच्दैछन् आफैँलाई ।
एक परिवार पेटको जो सवाल छ !
No comments:
Post a Comment