दृश्य १
चखूँतीबखूँती गुफाबाट निस्किएर भि र छाया सरासर प्रमीलापुरीको बाटो लाग्छन् ।
छाया अघिअघि हुन्छिन्, भि पछिपछि हुन्छन् । घाम लागेको भए पनि पर क्षितिजमा
पानी पर्ने बादल देख्न सकिन्थ्यो ।
भिः छाया मलाई तिम्रो हजूरआमासगँ भेट गर्नुछ ।
छायाः (भिपट्टि नहेरी सरासर हिँड्दै) हुन्छ नि त, म भेट गराइदिउँला । भर्खर त आउनुभयो । चखूँतीबखूँती गुफाको धुलो अझै पहिरनमै छ । पहिला कपडा फेर्नुहोस्, नुहाउनुहोस्, थोरै केही खानुहोस् । राती हाम्रोमै आराम गरेर भोलि विहान भेट्नुहोस् । हुदैँन ?
भिः (छायाको पाइलाको गती पछ्याउदैँ) हुन्छ, भइहाल्छ नि । तर मैले फेर्नको लागि कुनै कपडा ल्याएको छैन, अनि भरे पढ्नको लागि कुनै पुस्तक पनि छैन । तपाईँले व्यवस्था गरिदिनुपर्छ है त ।(खिस्स हाँस्छ)
छायाः झन्डै पचास वर्षपछि प्रमीलापुरीमा कोही पाहूना लागेको छ, तपाईँको खाने, बस्ने, पढ्ने, सुत्ने सब व्यवस्था आरामसगँ हुन्छ, केही सुर्ता लिनु पर्दैन । बरू के कस्तो लाग्दै छ, तत्कालै भन्नुहोस्, मनमा नराख्नुहोस् । पाहुनाको सत्कार गर्न पाउँदा हामी प्रमीलापुरीवासी बहूतै धन्य ठान्छौँ । तपाईँ खुसी हुनुभयो भने हामीलाई आनन्द मिल्ने छ ।
भिः धन्यवाद छाया । तिम्रो र प्रमीलापुरीको सत्कारप्रति म आभारी हुनेछु । मलाई थाहा छ यहाँ धेरै वर्ष पहिले सम आएका थिए ।
छायाः सम, को सम ? सम नाम गरेका कोही पनि आएका छैनन् । पछिल्लो चोटि यहाँ आएका भनेका कान्तीपुरीबाट बालकृष्ण नाम गरेका कवि हुन् । उनीभन्दा अघि को आएका थिए मलाई ज्ञान छैन, तर पछाडी कोही पनि आगन्तुकको पाइला परेको छैन प्रमीलापुरीमा ।
भिः (थोरै मुस्कुराउदैँ) बालकृष्णकै थर हो सम । पछाडीको शेर हटाएर आफूलाई खान्दानभन्दा फरक देखाउनु थियो सायद, र सफल पनि भए । मैले बालकृष्ण सम नै भनेको हूँ ।
छायाः अच्छा ! बालकृष्णकै थर पो हो सम ? म कसरी जानूँ ? यहाँ प्रमीलापुरीमा थरको व्यवस्था छैन । सबै नामबाटै चल्छ । तपाईँले विस्तारै थाहा पाउनुहुन्छ । यहाँ कुनै दुई व्यक्तीको एकै नाम हुदैँन । सबको परिचय उसको नाम नै हुन्छ, जुन प्रमीलापुरीभरमै एउटै हुन्छ ।
भिः (अचम्म मान्दै) हो र ? थरविना पनि मानिसको पहिचान सम्भव हुन्छ र ?
छायाः हुन्छ । भइरहेकै छ । जस्तो कि मेरो नाम छाया । प्रमीलापुरीभरमै यो नाम गर्ने कोही छैन । जब कसैले छाया भन्दछ, मेरो नै नाम लिइराखेको हुन्छ ।
भिः थर पहिचान मात्रको लागि कहाँ हो र ? थरले जन्मथलो, वासस्थान इंकित गर्दछ । कुलखान्दान
चिनाउँछ । विहावारी र अरू व्यवहार सजिलो गराउँछ ।
छायाः तपाईँको विचार सही हो । तर (भिपट्टि फर्केर हातले ईशारा दिदैँ एकैछिन चौतारीमा बस्ने सङ्केत गर्दछिन्) प्रमीलापुरी सानो नगरी छ । जति यहाँ मानिसहरू छन्, सबै यतै जन्मिएका हुन् । कहीँबाट कोही आएको छैन । यसकारण जन्मथलो र वासस्थान इकिंत गर्नका लागि थरको आवश्यकता परेन नै । रह्यो कुलको कुरा । प्रमीलापुरीमा सबैको कुल देवता साझा देवीदेवताको पूजा आराधाना गर्न यहाँका मानिसहरू भेदभाव गर्दैनन् । सबै देवीदेवतालाई समान आस्था र पूजा चढाँउछन् ।
भिः अनि बिहावारी व्यवस्था कस्तो छ । (खल्तिबाट रूमाल झिकेर पसिना पुछ्दै) सातपुस्ताभित्र त पशूको त प्रजनन् ठीक हुदैँन, सन्तान अवगुणका जन्मन्छन् ।
छायाः ठीक भन्नुभयो । प्रमीलापुरीमा विहा त्यहाँ हुन्छ, जहाँ प्रेम हुन्छ । तर यता प्रेमको आखाँ हुन्छ, अन्धो हुदैँन । जहाँ भविष्य हुदैँन, त्यहाँ प्रेम हुदैँन । उता ठ्याक्कै विपरित हुन्छ । पहिला प्रेम हुन्छ, अनि पछि भविष्य खोजिन्छ । यता पहिला भविष्य हेरिन्छ, अनि प्रेम गरिन्छ ।
भिः भनेपछि, यता प्रेमले मिलन नै पाउछँ सधैँ ? मँैले यसो बुझ्दैछु, गल्ती भए कृपया सच्चाइ पाऊँ ।
छायाः हो । प्रमीलापुरीमा आजसम्म कुनै पनि प्रेमजोडीहरू छुट्टनु परेको छैन । यो कुरा नगरीकै गर्व पनि हो । यसो हुनाको प्रमुख कारण मैँले भनिहालेँ । यहाँको प्रेम अन्धो हुदैँन । मानिसहरू भावनाले प्रेम गर्दैनन्, चेतनाले गर्दछन् ।
भिः कस्तो अविश्वसनीय ? उता हाम्रोतिर भावनाका प्रेमहरू मात्र भेटिन्छन् । अनि प्रेमका निमित्त लडाइ, सङ्घर्षहरू भएका छन् । साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर मानिसहरू प्रेम पाउन खोज्दछन् । यो भनेको त जाबो छलकपटी भावनालाई सवैस्व सुम्पिएको न त भयो । भावनाजस्तो मिथ्या संसारमा के नै होला अरू ?
छायाः (हाँस्दै) चेतनाको सहराले भावनामाथि शासन गर्न सकिन्छ । वहकाइपूर्ण जिन्दगीलाई अर्थपूर्ण बनाउन सकिन्छ ।
भिः हरेक व्यक्तिमा चेतना घुसेकै हुन्छ यस नगरीमा ? अचम्म ! दैवीय चमत्कार नै हुनुपर्छ यस्तो त ।
छायाः दैवीय चमतकार हैन, साधारण मानिसको व्यवहार । इमान्दार, तापस्विक, समूहगत व्यवहार । आदीदेखि नै यस्तो थिएन यो नगरी । शेफालिका, ऋता, कादम्बीनी, धिराधा, ज्वाला, बसुन्धारा आदीको धेरै देन छ । यी नामहरूले प्रमीलापुरीलाई धेरै नै गुण लगाएका छन् । हामी र हाम्रो वशंजले कहिल्यै बिर्सने छैनौँ ।
(चौतारीमा बेजोडसगँ सिर्सिरे हावा चल्छ । रूखमाथि चराका झुण्डहरू कराउदैँ खेलमा रमाइरहेका हुन्छन् ।)
थकाइ मरेको भए जाऔँ । अझ मेरो निवाससम्म पुग्न हामीलाई आधा दिनको समय लाग्छ । फट्टाफट हिँड्यौँ भने घाम नडुब्दै पुग्नेछौँ । फेरि तपाईँको लगाउने, पढ्नेको पनि व्यवस्था गर्नुछ ।
भिः हुन्छ जाऔँ । (उठ्छ) तर मलाई प्रमीलापुरी साच्चै नै काल्पिनिक र अविश्वसनीय लाग्यो ।
छायाः भर्खरभर्खर भएर हो । पछि साधारण आग्नुपर्छ । बरू अहिले फट्टाफट जाऔँ ।
भिः हुन्छ , जाऔँ ।
(दुवै फट्टाफट हिँड्छन् । भि छायालाई पछ्याउन हतासले हिँड्दछ ।)
दृश्य— २
भि र छाया प्रमीलापुरीलाई किनार बनाएर बग्ने खोलाको तिरैतिर हिँडिरहेका छन् । खोलापारी भर्खर रोपाईँ गरिएका खेतहरूमा धानका हरीया विरूवा हावासगैँ लहरी खेल्दैछन् ।
छायाः हुन्छ, पिउँदा हुन्छ । प्रमीलापुरीको सभ्यता यही तृष्णमती नदीबाट सुरू भएको कथन छ । चिन्ताभय केही केही नमानी पिउँदा हुन्छ । बरू टेक्दा चाहिँ हेक्का पु¥याउनु होला । ढुङ्गाहरू चिप्ला होलान् ।
(भि उफ्रदैँ खोलातिर जान्छ । एउटा ठूलो ढुङ्गामा टुक्रुक्क बसी अञ्जुलीले पानी उबाएर पिउँछ । पानी चोब्दछ । टाउको बाहिर निकाल्दै ऊ चिच्याउँछ, मानौँ उसले अचानक केही सम्झियो)
छायाः तपाईँ यो जिज्ञासा अघि नै पोख्नु होला भन्ने ठानेकी थिएँ । बल्ल आएर सोध्नुभयो । ढाटेँकी हैन किन ढाटूँ । म अपवाद हूँ, त्यती मात्र हो ।
भिः (टाउको निहुराउदैँ छाया नजिक भी पुग्छ) मैले बुझिन कस्तो अपवाद ।
छायाः भोलि हजूरआमाले भन्नुहोला ।
भिः त्यसो भए त तिम्रो हजूरआमा कवीयत्री आस्फोता होइन ?
छायाः कवीयत्री त हुन्, तर आस्फोता होइनन् । आस्फोताले देहत्याग गर्नुभएको साढेँ दुई दशक भयो । म जन्मनुअघि नै ।
भिः ला, हो र ? मेरो कत्रो रहर थियो उनीसँग बसेर कविता सुन्नेसुनाउने ।
छायाः मेरी हजूरआमासँग बसेर रहर पु¥याउनुहोला बरू छिटो जाऔँ । धेरै छैन अब, त्यस्तै डेढ घन्टा पुगिन्छ ।
भिः हवस् जाऔँ सरासर । तपाईँ अघि लाग्नुहोस् ।
छायाः म सानी छु, त्यसैले मलाई आदरार्थी सर्वनामले सम्बोधन गर्नु पर्दैन । तिमी भनेर सम्बोधन गर्नुभए म खुसी हुनेथेँ ।
भिः हवस् । तपाईँलाई खुसी बनाउन त सजिलै सहेछ ।
छायाः फेरि तपाईँ भन्नुभयो !
भिः माफ गर्नुहोला ।
छायाः फेरि ?
भिः (हाँस्दै) मलाई अफ्ट्यारो महशूस हुदैँछ तपाईँलाई तिमी भन्न ।
छायाः किन अफ्ट्यारो मान्नुप¥यो । लौ बरू सरासर जाऔँ ।
भिः हुन्छ । (दुवैजना हिँड्न थाल्छन्) छाया, एउटा कुरा भन त, प्रमीलापुरीमा रेल, यानेकी वाष्पयान चल्नेगथ्र्यो होइन र ?
कुनै प्रतिक्रिया नजनाई छाया लुइलूई अघि बढ्छिन् । भि पछिछि लाग्छ ।
दृश्य—३
उनीहरू प्रमीलापुरी प्रवेश गर्ने त्यो विशाल द्वारमा आइपुग्छन् । भित्र प्रवेश गरे लगतै त्यहाँको कालीगडी देखेर भि नतमस्तक हुन्छ । पाटनबसन्तपुरतिर देखेकोजस्तो कलाकारिता भएपनि साह्रै मोहक र जिवन्त भएका कारण भि तिनीहरूलाई हेर्दै, दङ्ग पर्दै अघि बढ्छ । घर, देवालय, चोककुना, जताततै मानिसका श्रीजना देख्न पाइन्थ्यो ।
घाम डुब्ने तरखरमा हुन्छ । वातावरण क्षितिजजत्तिकै सिन्धूरेँ भएर आएको छ । मानिसहरू एकाध देखिन थाल्छन् । निकै हसिँलापोटिला मानिसहरू । पहिरन पनि कस्तो आ—आर्कै । एक्लै पनि कोही हिँडेको छैन ।
एकजनाः ए छाया । कता पुगेर आयौ ।
अर्कोः अनि यिनी चाहिँ को ?
छायाः म उहाँलाई चखूतीबखूती गुफाबाट लिएर आएकी । उहाँ भि । आजै आउनुभयो ।
तेस्रोः महारानी त्रिकम्पाको मर्जी भएपछि हिजोको आजै हुन परिहाल्यो । खुसी लाग्यो तपाईँसँग भेट्दा ।
(पहिला नमस्कार गर्छ, अनि मिलाउनको लागि दाहिने हात अघि सार्छ )
छायाः तपाईँहरूको त आजै परिचय भइहाल्यो । अब गएर घरटोलमा पनि हल्ला फैलाइदिनु होला । प्रमीलापुरीमा करीब पचास वर्षपछि कोही पाहुना आएका छन्, पर्सि उहाँको परिचयात्मक र स्वागतात्मक कार्यक्रम आयोजना गरिने भएको छ । महारानी त्रिकम्पाकै मर्जी ठानेर सबैलाई जानकारी दिनुहोला । आफूहरू पनि आउनुहोला ।
दोस्रोः हवस्, छाया । भि, पर्सि भटौँला ।
पहिलोः पछि भेटौँला भि ।
तेस्रोः अहिलेलाई हामी जान्छौँ ।
छायाः हवस्, हामी पनि लाग्यौँ । पर्सिको आयोजनाबारे चाहिँ बरूसबैलाई खबर गरिदिनुहोला ।
(ती मानिसहरू अलि पर पुग्छन् ।)
भिः कस्तो आयोजना भनेको छाया । अनि अघि एकजनाले गरेको कुरा मैले बुझिन । को महारानी त्रिकम्पा ? कस्तो आदेश ? मैँले त षडयन्त्रकारी गन्ध पो पाउन थालेँ ।
छायाः पहिले घर पुगौँ अनि सबै भनौँला ।
(चोकबाट दाहिने मुडी चौतारी छेऊको घरभित्र पस्दछन् । “आमा हामी आयौँ”, छाया चिच्याउँछिन् ।)
दृश्य ४
छायाकी हजूरआमा उठ्नुहुन्छ र थाल्नुहुन्छ—
को जान्दछ र भविष्य के हो ?
को जान्दछ र सत्य के हो ?
विगतको प्रकाशमा मिथ्या जगत
को पुरो दृष्टी देख्ने पनि को ?
एउटा चक्र निरन्तर घुम्दछ एकै वेगमा
त्यसैको आडमा छ अर्को छ विशाल र स्थीर
पहिलो समय, दोस्रो ब्रह्माण्ड ।
पाएँ—दिएँ, छ—थियो सब मायावी खेल
जे थिएन ब्रह्माण्डमा कसैले ल्याएन
जे छ ब्रह्माण्डमा त्यसैको रूप फेरिने हो
कठै एक जिन्दगी मेरो के नै पो हो ?
नहुदाँ सहन सकूँ, हुदाँ बाँड्न चाहूँ
प्रभूप्रतिको आस्था र स्वयंप्रतिको विश्वास
दाहिने, देब्रे गरी सधैँ म पाइला चालूँ
र पुगेर मानिसहरूका दिलभित्र सल्काऊँ
भतृत्वको दीयो र फूकूँ मानवताको विगुल
खुसी हृदयले, हर्षित हृदयले ।
आदेश गर्ने महारानी त्रिकम्पा
पहल गर्ने महारानी भावाम्वृता र प्रेमशोभा
कीर्ति रच्ने विदुषी मञ्जरी
र रहर गर्ने सकल नगरवासी
सबको जय !
अर्धशतक वर्षहरूपछि एकाएक
हाँस्दछिन् प्रमीलापुरी बनिकन पाहुनामय
सबको जय !
awesome reading.hope to read more.
ReplyDelete