त्यस साँझ ऊ रोयो ।
खोलाकिनारमा मानिस हिँड्न ठप्पजस्तै भइसकेको थियो । नजिकै कालीगेडीको झ्याङबाट फट्याङ्ग्राहरू कराइरहेका थिए । यदाकदा माथि ढुङ्गेधारामा पानी ओसार्न आएका मानिसहरू हिँडडुल गर्दा झ्याङ्बाट आवाज आउदैँनथ्यो । हिँड्डुल बन्द भएपछि पुनः अघिको भन्दा चर्को गरी कराएर फट्याङ्ग्राहरू ती मानिसहरूप्रति रिस पोख्दथे । ती फट्याङ्ग्राहरूले खै थाहा पाएपाएनन् ऊ रोएको त्यस रात । तर ऊ निकै बेर रूदैँ त्यही किनारामा घोप्टिएको थियो ।
पर उसलाई बकैनाको रूखबाट एक जोर कागले हेरिरहेको थिए । ती काला धम्मरधुसे कागले देख्दैमा किन रून छोड्नुप¥यो ? ऊ रोइरह्यो ।
तल खोलाको पानीबाट पूर्णगोलाकार चन्द्रमाले पनि हेरिरहेकी थिइन् । अरू साँझभन्दा त्यस साँझ उनको चेहरामा चमक झन तेज थियो, साउद धेरै खुसी थिइन् । आकाशमा डुलिहिँड्ने जात उनी के कारणले खुसी हुन्छिन्, किन रिसाएर चुर कालो हुन्छिन्, को जानोस् ? अनि फेरि उनले देखिन् भन्दैमा के भो ? ऊ रोइरह्यो ।
पर जुनभन्दा माथिका ताराहरूले पनि हेरिरहेका थिए उसले रोएको । तर तिनीहरूलाई के हर्ष, के विस्मात । तिनीहरू निकै दुरका अज्नवीहरू थिए । सायद नजिकका आफन्तहरू भएका भए उसले रून छोड्थ्यो । तर नचिन्नेहरूले देखेर के भो र, ऊ रोइरह्यो ।
एउटा मात्र भ्याकुता खेतको डालीबाट कराउँदा उसले आफूप्रतिको सहानुभूती ठानेको थियो । तर जताततैबाट ट्यारर्र, ट्यारर्र आवाज आउन थालेपछि उसलाई झन रिस उठ्यो । त्यो ट्यारर्र ट्यारर्र उसको लागि थिएन, त्यसैले उसले रिसाउन पर्थेन । ती भ्याकुताहरू इन्द्रदेवसँग वर्षातको लागि प्राथना गरिरहेका थिए । “हे भ्याकुता हो आओ । आँसूले तिमीहरूको तीर्खा मेटिन्छ भने म रोइरहेछु”, रोदनको हिक्कहिक्कमा अड्किदैँ उसले ती भ्याकुताहरूलाई भन्यो ।
खोलाका माछाहरू निदाइसकेका थिए । तिनीहरूले चाहिँ देखेनन् ऊ रोएको । कसैलाई देखाउन, घुक्र्याउनलाई ऊ रोएको थिएन । तर भ्याकुताहरूले चाल पाएर वरा माछाहरूले नपाउदाँ समानता कहाँबाट भयो र । “हे, माछा हो आओ हेर्न, म रूदैँ छु ।”
पहिला एउटा चमेरो आएको थियो कताबाट । त्यसको केहीबेरमै झुन्डकाझुन्ड चमेराहरू आकाशमा चिच्याउँदो देखापरे । “के कारणले तिमी रोइरहेकोछौ ? कस्ले अन्याय ग¥यो र कठै तिमी पन्ध्रवर्षे मानिसको बबुरा छिप्पिदोँ रातमा यसरी निर्सहयोगी भई रोइरहेछौ । तिम्रो निम्ति युद्घ गर्न मैँले मेरो सेना बोलाएर ल्याएँ । भन कसलाई के गरौँ ?”, त्यो पहिला आउने चमेरोले सामुन्ने आएर उसलाई भन्यो ।
जीतहार बुझेर हार्नुको मर्म बुझेर रूने उमेर थिएन उसको । अनि कसैले पनि अन्याय नगरेको भन्दै आफूलाई कुनै प्रकारको सहयोग नचाहिएको भन्दै उक्त प्रस्ताव लत्याइदियो । चमेराहरूले यसलाई आफ्नो अपमान ठाने क्या हो, उल्टो ऊप्रति नै आक्रमक भएर उसलाई घेर्न थाले । तर अघिको त्यो एउटा साह्रै बुझकी रहेछ । सहयोग नलिने उसको भावनाको आशय चमेराहरूप्रति अपमान नभई ऊ आफूप्रतिको स्वाभिमान थियो । बुझिहाल्यो र बाटो लाग्यो । उसका सेनालाई पनि त्यसै गर्न करै लाग्यो । झुन्डका झून्ड चमेराहरू आकाशबाट हराए । वातावरण फेरि साम्य भयो ।
पर बाँसघारीबाट यो सब दशा लाटोकोशेराले हेरिरहेको थियो । चमेराहरू उसका दुश्मन, प्रतिस्पर्धी हुन् । तर दुश्मनले साथी बनाउन नसकेको बबुरालाई लाटोकोशेराले आफ्नो गठबन्धन बनाउने रहर देखाएन ।
ऊ धेरैबेरसम्म रोइरह्यो त्यस रात किनारामा । अब त रात पनि छिप्पिसकेको थियो । चन्द्रमा खोलाबाट हटिसकेकी थिइन् । तर अझै आकाशमा नै थिइन् । माथि ढुङ्गेधाराको आवाज झन ठुलो सुनिने भएको थियो, फट्याङ्ग्राहरूले कराउन छोडेको भएर होला । कागका जोडी निदाए, भ्याकुताहरूले इन्द्रदेवसमक्षको प्राथनालाई भालि साँझसम्मको लागि स्थगन गरे । ऊ रोएको थाहा पाउनेको, नपाउनेको कसैको दैनिकीमा फरक परेन । माछाहरू कहाँ बिउँझिएर आए र ऊ रोएको हेर्न ।
कसैलाई फरक नपर्ने रहेछ भन्ने थाहा पाएर ऊ झन् भक्कानिएर रोयो ।
त्यस रातभर बतास विभिन्न नाम गरेर पटकपटक बहिरह्यो— पवन, समीर, अनिल, हुरी, हून्डरी, चक्रवात ! रूप अनेक, व्यवहार एक । सब मुटू हान्ने चीसा थिए । चीसोपन साह्रै कठीन अनुभव हुन्छ । खोलाको चीसो, मध्यारातभन्दा पारी अनि एक्लै निर्सहयोगी । के खम्न सक्थ्यो ? ऊ घोप्टिएको घोप्टिएकै भयो । उठेन त्यस रातदेखि कहिल्यै ।
No comments:
Post a Comment