कपटहरूको गाउँमा
विद्रोही
अभद्र नै हुन्छन् ।
थुकिन्छन्
थुनिन्छन्,
दन्त्यकथादेखि
आजसम्मको इतिहास साक्षी छ,
उनीहरूको अबोधपनामाथि औँला तेस्र्याएर
युग रोक्ने धकेल्ने सामर्थ्य भएका
कस्तुरी मुड्कीहरू
उनीहरूमाथि निर्मम वर्षिन्छन् ।
शरमले शरम मान्छ
कपटहरूको गाउँमा ।
कानुन घुम्छ
पुच्छर टाङमुनि लुकाएर
सोझो बालकले भर्खर किनेको
पापा खोसी खाने मनशायले ।
राष्ट्र बाँच्छ
घिट्घिटोमा मरणाशन्न थलिएर
विश्वमानचित्रमा खुम्चिएरै भएपनि जसोतसो ।
कपटहरूको गाउँमा
कविहरू भिख माग्दै हिँडछन् चिन्तनको
नबिकेर
युगले प्रथम पुरुषमा संवाद गरेको कृतिहरू
कपटहरूको गाउँमा
फटाहाहरू भाग लाउँदै हिँड्छन् साधनश्रोतको
धेर बिकेर
समयले पटकपटक खिल्ली उडाएका घोषणापत्रहरू ।
सबेरै क्षितिजदेखि अन्यायको विस्तृती उदाउँछ
र अबेर रातैभरि अत्याचारको पराकाष्टा छाउँछ
कपटहरूको गाउँमा
हेरेर नदेख्ने
र देखेर नहेर्ने शर्तमा
सास फेर्छन् नागरिकहरू
आँखाको नानीमा
शानका साथ
निकृष्ट स्वार्थको
पहेँलो चम्किलो
जलप लगाएर ।
No comments:
Post a Comment