Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

हजूरबुवाहरूलाई

हजूरबुवाहरूलाई

तेह्र महिनाको पाइतालालाई
ताते ताते हिँड्न सिकाउने हजूरबुवा,
विन्ती,
त्यसलाई नेपाली हूँ भन्न नसिकाऊ ।
धर्ती पुरानो हो
राष्ट्र होइन ।

हिजो तिम्रो देश अर्कै थियो ।
तिमीलाई थाहा छ, बिर्सन पाउँदैनौ,
इतिहासमा अनगिन्ती युद्ध लडिएका छन् ।
तिम्रो देशमा
अर्कै देशको सेनाहरू आई,
आतङ्क मच्चाई
शासन हडपेका थिए ।
दुश्मन देशका राजा वीर कहलाइएको थियो ।
उनैको भक्ती र उक्ती संस्कृती बस्यो,
तिमीले बिर्सन पाउँदैनौँ ।


विश्वइतिहास युद्धहरूको समयरेखा हो,
यसो भन्दा फरक पर्दैन।
सोच त हजूरबुवा,
आदिदेखि अहिलेसम्म
नाथे देशका लागि भनेर
कति सेनाहरू मरेका छन् ।
फेरि युद्धको आतङ्कमा सैनिकमात्र कहाँ मर्छन् ?
जनको, धनको, मनको क्षती कति भएको छ,
प्राप्ती के भो ?
तिमीले ढाँट्न पाउँदैनौँ ।

लक्काजवान एउटा जीवन
विनाबेथ्थामा नाथे सिमानाको धर्कोका लागि
दैवीय प्राण लिन—दिन तयार हुनु
आध्यात्मिक तिम्रो उमेरको मनले
के ठीक हो भन्छ ?
तिमीले ढाँट्न पाउदैँनौ,
सिमानामा नअट्ने जिन्दगी छ
इतिहासभन्दा प्रकृती विशाल छ ।


आफूले नै आफूलाई
विशेषणको तक्मा दिदाँ
चरित्रमा सङ्कुचन आउँछ ।
संसारभरका हजूरबुवाहरू, राष्ट्रयता होइन !
छोराबुहारीलाई अध्यात्म र मानवता सिकाओ,
नातीनातिनाहरूलाई प्रकृती र भातृत्व बुझाओ ।
इन्द्रले डाह गर्नेछन् पृथ्वीको
परीहरू आई नाच्नेछन् यहाँ
तिम्रो भोगाइ
र नातीनातिनाको सिकाइ
सार्थक हुनेछ ।।

No comments:

Post a Comment