भर्खर निदाएको मात्र थिएँ
हिजो मध्यरातमा आँधी हुरी चल्यो,
डाङ्डाङ्, डुङ्डुङ्, हार्र, हुर्र !
ढोका नलगाई सुत्ने बानी आफ्नो,
हुरी सरासर भित्रै !
पहिला भान्सा कोठामा पस्यो ।
तीन दिनदेखि नजलेको चुल्हो,
ढुसी उम्रिसकेका उब्रेपाब्रे,
जुठाभाँडा असरल्ल भुइँभरी,
साङ्लालाई मनपरी भतेर,
पानी खान्छु भन्दा समेत चोक्टै चोक्टा ।
रिसले हुन्हुनिँदै हुरी
मेरो अध्ययन कोठामा छिर्यो ।
रहरले भित्ताजत्रै बनाएको
मभन्दा आधा उमेरको मेरो बुक-सेल्फ,
जस्को पनि आधा उमेर खुब सक्रिय बित्यो
र रित्तिन थालेको भर्खरभर्खर थियो,
मिहिन दृष्टिले केलायो ।
निष्प्रभावित मुद्रामा दाह्री कन्याउदै
थ्याच्च मेरो कुर्सीमा बस्यो,
कब्जियतले ग्रसित भएर थला परेको मेरो नोटबुक
टेबलबाट टिप्यो, टक्टकायो र पल्टायो ।
पहिलो पानामै ओठ चेप्र्यायो, कन्चेटी कन्यायो,
तर थप पाना कविताहरू पनि खरर्र पल्टायो ।
देब्रे हातको नाडी बटारिनु नै थियो, अहिल्यै कि एकछिन,
हस्याङ्फस्याङ्, जुरूक्क उठ्यो,
दाहिने हातले नोटबुक भँइमै छोडिदियो,
खुला रहेको झ्यालको खापालाई ढ्याप्प लगाइदियो
र फन्किएर कोठा बाहिर निक्लियो ।
यता म सुत्ने कोठामा पनि आउँछ
र त्यसलाई घोक्रयाएर
त्यो सगँबाट लय लुटी राख्छु
र घर फोर्दै हिँडेको आरोपमा थुनाइदिन्छु
भन्ने योजनाले
त्यसलाई ढ्याप्पा दिन
ढोका पछाडी आग्लो अँठ्याएर
तयार थिएँ ।
मुला हुरी त मेरो कोठामा नछिरी सरासर गइदिरा' !
No comments:
Post a Comment