आधा प्याला मात्र पिएर तिर्खा नबुझेजस्तो,
आधा गाँस मात्र चपाएर झन भोक जागेजस्तो
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
पहिले कहिल्यै नदेखेका आकृतीहरु हुन् कि,
नसोचेका रङ्गहरू मात्र हुन् कि, मेरो निन्द्रा तर्साउने,
वा मेरो कल्पनाशक्ती सिङ्गै लुसिफरको लगाममा छ
आफ्नै पखेटा दुई विशाल बोझ भएको छ त्यसैले,
सिङ्गै आकाश खुम्चिएर पासो च्याप्दै झर्दैछ, त्यसैले ।
मैले झोसेको आगोको राप टाँसिएको मसँगै हुनेछ,
मैले बगाउनु परेको रगतको हिसाब बनेरै रहनेछ ।
रातका अँध्याराहरूले आँखा च्यात्न आउन पर्दैन
चितामा रोटी सेकेर टुक्रा टुक्रा भाग सबलाई पुग्दैन
मानवलाई मानवता नै हो एउटा सिमाना,
मानवलाई मानव हुनु नै हो अर्को सिमाना ।
त्यसैले मलाई मानव भएर पुगेन,
संसारलाई मानव मात्रले पुग्दैन ।
मैँले सम्झौता गरेर फर्केको हुँ त्यसैले
दानव हुन् कि देवता हुन् ती
हात मिलाएर फर्केको हुँ त्यसैले ।
आधा प्याला मात्र पिएर तिर्खा नबुझेजस्तो,
आधा गाँस मात्र चपाएर झन भोक जागेजस्तो
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
No comments:
Post a Comment