बागमती र बप्तिस्मा
एकजना हितैषीसगँ मेरो भेटघाटको सहमती भयो । म भोली बिहान सबेरै— त्यस्तै साढेँ छ बजेतिर— पशूपतिनाथ प्राङ्गणमा पुगेँ । मित्रले सातबजे आउँछु भनेका थिए तर उनको आउने चालामाला थिएन । समयको कच्चा भएपनि वचनको पक्का होलान् भन्ने आशामा मैले प्रतीक्षा गर्ने निधो गरेँ । मसगँ अरू कुनै विकल्प पनि त थिएन ।
असारे विहानीको घाम शरदर्दको कारण बन्दै थियो । घडीको सिङ्कुटे सूई पनि अल्छि गरेर टिकटिक टिकटिक हिँड्दै थियो । बढ्दो मानिसहरूको चहलपहल भित्र प्रत्येक अनुहार आ–आफ्नो उद्देश्यका निम्त्ति लागिपरेकाझँै देखिन्थे । किनारामा बसेर प्रतीक्षामा बेपत्ता धुवाँ फुकिरहदाँ लाग्दै थियो कि दुनियाँमा बेकामी नामकी चरी मै एकजना मात्र थिएँ । माहोल यति उराठ लाग्दो थियो, देखेर मेरो हातको चुरोटसमेत छिटोछिटो मोक्षको निम्त्ति सल्किरहेको थियो ।
सपनाको सागरमा मोती खोज्ने कवीहरूलाई बाहेक अरू कसैलाई प्रतीक्षा सुन्दर नलाग्ला । घृणित प्रतीक्षासगँ साक्षातकार भइरहदाँ तल बाग्मती किनारामा एउटा दृश्य देखेँ जसको बेलीबिस्तार म पाठकमाझ बिनाअनुमती पस्किन चाहन्छु ।
त्यस्तै चौबीसपच्चिस बर्षकीजस्ती आइमाई रातो पेटिकोटले आफ्नो छातीसमेतको इज्जत छोपेर उभिरहेकी थिइन् । उनको केश फिजाँरिएको थियो र पाइताला उदाङ्गो । दुई जना मर्दहरू उनको अगाडीपछाडी उभिरहेका थिए । अगाडी हुनेले कालो झोला पिठ्ँयूमा र हातमा रातो किनारा गरेको पुस्तक बोकेका थिए । पछाडी क्यापटोपी लगाएर उभिनुहुने महानुभावले आइमाईको ब्याग र कपडाहरू बोक्नु भएको थियो ।
दृश्यलाई बुझ्न दुई झलकसमेत आवश्यक परेन । हिन्दु श्रद्घालुहरूले आमा मानेर पुज्ने बागमतीमा चोबिएर (जस्लाई बप्तिस्मा लिने भनिन्छ) ती आइमाई आफ्नो ख्रीस्टियन जीवन पूर्णरूपले थालनी गनै आटँदै थिइन् । किनारामा बेफ्वाकमा उपस्थित बेकामी चरीलाई बडा अजीव लाग्यो । काठमाण्डौँमा अरू कुनै नदीनाला वा तालतलाउ बाकीँ रहेनन्, हैन भने बागमतीमा बप्तिस्मा लिएर हाम्रो समाजमा कस्तो ख्रीस्टियन् धर्मालुहरू जन्मिरहेका छन् ?
प्रदुषणका कारण गुज्रिरहेको बाग्मतीको दुरावस्थामा वेदना थप्नलाई हो वा बहुआयामिक समाजिक परिवर्तनलाई गलत गल्लीमा धकेल्न हो, बागमतीमा बप्तिस्माको निर्णय कसरी र किन स्वीकारयोग्य भयो ? नैतिकता र विवेकशीलता कुन खोल्तीमा लुकाइएको छ ? ठिकै छ पुजारी र पास्टरहरूले गरी खान पाउनु पर्छ, तर यसको अर्थ यो होइन कि सम्पूर्ण समाजका मानिसहरू उनीहरूको लौरोले डोह्रिने भेडा हुनै पर्छ । स्वविवेक र स्वनिर्णयले के यसै भन्ला र बागमतीमा बप्तिस्मा उचित हुन्छ । कस्लाई कस्ले हेपेको ?
कुनै पनि धर्मको वकालत गर्ने धर्मात्मा व्यक्ति म होइन । तर एकजना साधारण व्यक्तिको नजरले हेर्दा पनि त्यो दृश्य कति शरमयोग्य लाग्दथ्यो । हिन्दुहरूले त्याग्दै गरेको बागमतीलाई कतै पास्टरहरूले ख्रीस्टियन त बनाउदैँ छैनन् ? धार्मिक स्वतन्त्रतामाथि सवाल उठाइरहेको छैन, म त एउटा साधारण जिज्ञासा मात्र राख्दै छु । हिन्दू आस्थामा नाक निमोठ्दै चोबिएर डेढ्सयको तौलीयाले पुछपाछ पारेपछि कस्तो विश्वासीको जन्म हुन्छ ?
कुनै पनि कार्य आफैँमा असल वा खराब हुदैन, त्यसको नतिजाले बताउँछ । पशूपतीको लिङ्गछेऊ भएर बग्ने पवित्र बागमती सकल हिन्दू भक्तालुहरूको पुजनीय नदी हो । तर यत्ति हो बागमतीप्रतीको आस्था र भक्ती कान्तीपुरीवासीहरूमा अब रहेन । हिन्दुहरू बागमतीमा छोइन समेत चाहदैनन् । इमान्दार हुने हो भने म आफैँ पनि चाहन्न । तर त्यही पशूपतीनाथको गजूरमुन्तिर हिन्दु देवीदेवताको नजरैसामु ख्रीस्टियनहरू बप्तिस्मा लिइरहेका छन् ।
हामी धर्म केलाई भन्छौ ? के हो भगवानप्रतीको आस्था ? जुन नदीलाई मातासमान हो भनी भन्दछौ त्यसैमा शौचकृया गरेर कस्तो हिन्दु धर्म निभाइरहेका छौ ? हिन्दुहरूको सबैभन्दा ठुलो देवालयको आँगन भएर बग्ने जलमा स्नान गरेर कस्तो ख्रीस्टियन बप्तिस्मा हुन्छ ?
मन्दिर गएको छु, मन्डली पनि । तर तल किनाराको उक्त दृश्यले न गजूरमुनी निहुरिन प्रेरणा दियो, न त मन्डलीमा गई प्राथनामा हात जोड्न । अस्तित्व र प्रगतीको लागि मर्यादा र इमान खल्तीमा राखेर जे पनि गर्न हुने भए त्यसलाई किन धर्म नाम दिनु, राजनीती नै भने भइहाल्यो नि !
मेरा हितैषी अझ आएनन् । प्रतीक्षको दीयोमा तेल निख्रियो र म घर फर्केँ ।
No comments:
Post a Comment