Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

निबन्ध र मेरो निबन्ध

निबन्ध र मेरो निबन्ध
निबन्धकै बारेमा एउटा निबन्ध लेखेर म सुरुवात गर्न चाहन्छु । निबन्ध के हो र किन लेखिन्छ ?

देवकोटा बाजे वा भैरव अर्यालमध्ये एक जिवित भएको भए आज म यो प्रश्न टेलिफोन गरेर सोध्थेँ । किनकी मैल स्कुलको पाठ्यक्रमभन्दा अन्यत्र कतै निबन्ध पढेको याद छैन, र पढेका निबन्धकारहरूमध्ये प्याट्ट दिमागबाट झिक्दा यी दुईकोभन्दा अरू नामै आएन । म पढन्ते हूँ, जान्ने हूँ भन्ने प्रमाणित नै गर्न खोज्ने हो भने त म पुरा एक पाना निबन्धकारहरूको नामैनामले भरिदिन सक्छु—जसको निमित्त मलाई खोजीकसरत गरे मात्र पुग्छ । तर इमान्दार भएर भन्ने हो भने म पढन्ते होइन, जान्ने पनि होइन । म त अल्छी हूँ, धेरै खराब बानीहरूको राजा हूँ । केही प्रमाणित गर्नुपर्ने आवश्यक्ता नै छैन । जे हो मेरोबारेमा त्यो मलाई राम्ररी थाहा छ । आइन्सटाइनको रिलेटिभिटी थियरी लगाएर कसैभन्दा राम्रो, कसैभन्दा नराम्रो हुनुछैन मलाई । खैर, मैले भन्न यत्ती खोजेको हुँ, यी दुर्ईभन्दा बाहेक मलाई गहिरो प्रभाव पार्न सक्ने अरू कोही निबन्धकारहरू मेरो हातमा परेनन् ।



अर्याल दाइलाई सोध्ने हो भने त यसो भन्थे होलान्— “हेर भाइ, निबन्ध भनेको समाजिक दुर्गन्धहरूको झुण्डमाथि अन्धाधुन्द ब्यङ्ग्यले हान्ने र जीब्रोलाई मन्त्रमुग्ध पार्ने शुद्घअशुद्घ स्वादले भरिपूर्ण नेवारी खाजा सेठको दुईतीन प्लेट झट्टारो मात्र हो ।” उनका निबन्ध नपढेका सायद कोही नेपाली विद्यार्थी छैनन् होला र पढेर नहाँसेका कोही पाठक छैनन् होला । अर्याल दाइले सजिलो बाटो अपनाए— हाँस्यब्यङ्ग्यको । ठट्टामजाक गरेर यदि मैले तपाईँ कुरूप हुनुहुन्छ, फटाहा हुनुहुन्छ, भनेँ भने तपाईँ त्यसलाई मजाककै रूपमा लिनुहुन्छ, गम्भीर ठान्नु हुन्न । तर त्यही कुरा मैले बिना हासोँ गम्भीर भएर भनेँ भने होनहो तपाईँजस्तो सुन्दर, असल व्यक्ति पनि आफैँलाई कुरूप र फटाहा ठान्नु हुन्छ र मदेखि रिसाउनु हुन्छ । अर्कोपाली मसगँ भेट्दा नाक दोब्रयाउनु हुन्छ, निकोअर्को पाली नदेखेझैँ अभिनय गर्नु हुन्छ, कानेअर्को पालीदेखि धारे हात लगाउन थाल्नु हुन्छ ।

बाटो सजिलै भए पनि अर्यालजीको यात्राचहिँ कठीन नै थियो भनेर म चाल पाउन सक्छु । किनकी ब्यङ्ग्य मात्रको लागि पनि बडेमानकै साहसको खाचोँ पर्छ । त्योमाथि मानिसलाई हँसाउनु कहाँ सजिलो हुन्छ र ? तपाईँ आफैँ प्रयत्न गर्नुस न । लेख्नुहोस त एउटा लेख जस्ले सुरूदेखि अन्त्यसम्म पाठकलाई हँसाउन सकोस । अनि त्यसको बिषयबस्तु पनि तुच्छ र सस्तो नहोस ताकी पुस्तोपुस्ताले त्यो पढिरहून । प्रयास गर्नु हुन्न भने पनि ठीकै छ— सबैले कलम चलाउनै पर्छ भन्ने छैन । तर यत्ति मान्नुहोस मानिसलाई हँसाउनु साह्रै कठीन छ । त्यो मथि लेखेर पुस्तौपुस्ता पढिने कृती, उफ !

अर्यालका निबन्ध विवेचनाविश्लेषण गर्दा स्कुलमा मैले सधैँ एउटा गल्ती दोहो¥याइरहेँ । म लेख्थेँ, “समाजका कालोमैलो पक्षहरू हटोस भन्ने अपेक्षामा आर्याल आफ्नो कृतीहरूमा तीखो ब्यङ्ग्य गर्छन् ।” उनी ब्यङ्ग्य गर्छन, हो उनी गर्छन्, तर समाजको कालो हटोस भनेर हैन । उनी पाठकहरूलाई हसाउन मात्र ब्यङ्ग्य गर्थे । अनि हँसाएर पनि काहीँ समाज परिवर्तन हुन्छ ? त्यसो हुने भए उनका निबन्धहरू सब एकसेएक छन् तर खै त परिवर्तन ? “जय भोली” मैले पढेँ, तपाईँले पनि पढनु भयो, तर खै हामीले भोलीवाद त्यागेको ? प्रत्येक बर्ष गाईजात्राको दिन सयौँ हास्यब्यङ्ग्य कलाकारहरू नेताज्यूलाई ब्यङ्ग्य गरेर आ–आफ्नो सिजनल बिज्नेस गर्छन्, तर खै नेताज्यू सुध्रिनुभाको ? अहँ, अर्यालले समाजको कालोमैलो पक्ष हटोस भनेर हैन, वलकी ब्यङ्ग्यात्मक तवरले  कुव्यवहार र कुचलनमाथि प्रकाश मात्र पारेका थिए । हो यात्रा कठीन भएको हुनुपर्छ, तर बाटो चाहिँ सजिलै हो । सबैलाई बराबर रिजाउन पनि सकिने, छिट्टै पपुलर पनि भइने । विचार गर्नुस त हँसाउन सक्ने हाम्रा साथीभाइहरू हामीमाझ पुलर छन्छैनन् ?

अब कुरा गरौँ देवकोटा बाजेको । तर बाजेको के कुरा गर्नु ? मेरो मतलब उहाँको कुरा गर्न म कहाँ काबिलियत राख्छु होला र ? जत्ति अर्को चोटी पढ्यो, त्यतीत्यती कठीन बन्दै जाने उहाँका शब्दहरूको प्रशंसा दुनियाँले गरेको छ । विशेषतः मुनामदन र अरू कविताकाव्यका कारण संसारभर प्रख्यात उनी निबन्ध र कथामा पनि उत्तिकै दखल राख्छन् । उनले उपन्यास पनि लेखेका छन्, नाटक र एकाङ्की पनि श्रीजना गरेका छन् । मैले नोबल साहित्य पुरस्कारको योग्य देखेको नेपाली साहित्यकार उनी एक मात्र हुन् । अरू पनि थुप्रै होलान्, तर मैले हेर्ने चेष्टा नगरेको हुन सक्छु जसमा म माफी माग्न चाहन्छु । उहाँ “भौगोलिक मिष्टेक” हुन अरे, मैले धेरैको मुखबाट सुनेको छु । भन्न त मलाईँ पनि त्यसो यदाकदा नभनिएको होइन, तर म जति उनलाई भन्दा गम्भीर हुन्छु, त्यती आफूलाई भन्दा हुदिँन । भौगोलिक मिस्टेकको मानेचाहिँ उनी गलत देशमा जन्मे अरे । उनी यूरोप वा अमेरिकामा जन्मनुपर्दथ्यो अरे जहाँ उनी जस्तो व्यक्तित्वको ठुलै कदर हुने गर्छ । उहाँ इमान्दार थिए, निर्लाेभी र दयालु थिए । यस्तैयस्तै स्वर्गीय गुणको कारण उनी नेपाली समाजको पाइतालाहरू द्वारा किल्चए, धुलोधुलो भएर पिल्सिए । मरणोपरान्त मात्र उहाँको खोजी भयो, उहाँको आवश्यक्ता महशुस भयो । उहाँ भौगोलिक इरर भएको धेरै मुखबाट सुनेको छु, तपाईँले पनि सुन्नु भएको होला, तर उहाँ जस्तो अरू  दसबाह्र व्यक्तित्व नेपालमा जन्मनु पर्दथ्यो भनेर कुनै मुखबाट आवाज आएको छैन । एकछिन कल्पनामा डुब्नुहोस त— उहाँ शिक्षामन्त्री हुनुहुन्थ्यो र उहाँजस्तै भ्रष्ट आचार बिरोधी आठदश मन्त्रीहरू त्यही बेलामा भइदिएको भए आज नेपाल देश कहाँ पुग्थ्यो । त्यो बेला आजभोली जस्तो जम्बो मन्त्रीमन्डलको चलनचल्ती पनि थिएन, अनि काम गर्न अहिलेझँै गाह्रो पनि हुन्थेन । तर अवशोस उहाँ एक्लै हुनुहुन्थ्यो । भौगोलिक मिस्टेक भएर भौगोलिक विवधता भएको देशमा जन्मे, हुर्के र लाचार भएर बितिगए । बिचरा बाजे !

तर खबरदार ! बाजेलाई बिचरा भनेर होइन, सलाम गर्नु पर्छ । अनि मात्र उहाँप्रतीको इमान्दार श्रद्घाञ्जली हुनेछ ।

हामी निबन्धमा थियौँ निबन्धमा नै आऔँ । देवकोटाका निबन्धहरू सरल छैनन्, जस्तै उहाँका कविता । कवितामा नजाऔँ, निबन्धमै फर्कौँ । निबन्ध के हो भनेर मैले सोधँे भने उहाँले यस्तो जवाफ दिनुहुन्थ्यो होला— “कविता नानीको दाज्यू  र कथा ठूल्दाज्यूको भाइ नै निबन्ध हुन् ।” अब मलाई कविता के हो, कथा के हो र परिवारमा अरू कोको सदस्यहरू छन् भनेर सोध्नुपर्ने हुन्थ्यो । तर अरू प्रश्नहरू गरेर उहाँको अमुल्य समय बर्बाद गर्न म चाहन्नथेँ । केही थाहा नपाइकन त्यसै प्रश्न सोध्न आएको रहेछ भन्ने भान पर्न दिन पनि चाहन्नथेँ । त्यसैले राम्ररी बुझेझैँ अभिनय गरेर म फर्कन्थेँ । घर आएर म घोत्लिन्थेँ । जति सोच्थेँ त्यती गहिराइमा डुब्दै जान्थेँ । म एक बुझ्थेँ, दुई कठीन हुन्थ्यो । दुई हप्ता लगाएर दुई बुझ्थेँ, तब मेरो अघि चारको चुनौती उभिसकेको हुन्थ्यो । जति सोच्यो, बुझेजस्तै भान हुदँै जान्थ्यो तर वास्तवमा म झन कठिनाईमा फस्दैँ जान्थेँ । बाजेका शैली र शब्दहरू नै यस्तो त मेरो के को दोष ?

गद्दमा नअटेर कयौँ भावनाहरू छछल्किएर पोखिन्छन्, जुन कुरा प्रायजस्तो कविहरूलाई ज्ञान हुन्छ । छन्दहरू अपुग भएर स्वच्छन्दको आविष्कार भएको छ तर स्वच्छन्दले पनि सम्पूर्ण भावनाहरूलाई समेटेर कसिलो गरी कहाँ बाध्न सक्छ र ? अनि खाचोँ पर्छ निबन्धको । जब विषयवस्तुमा ब्यक्तिगत भावनाभन्दा बाहेक अरू थुप्रै कुरा समेट्नु पर्ने छ, तब पात्रहरूको श्रीजना गरेर कथा वा नाटकहरू लेख्न्छि । 

पद्दमा समेटिएका पहरेदारविहिन भावनाहरू नै देवकोटाको लागि निबन्ध हुनुपर्छ । कविता भावना हो भन्दा तपाईँलाई सजिलै पत्यार लाग्छ, परन्तु निबन्धलाई पनि भावना भनेँ भने तपाईँ “हो र ?” भनेर प्रश्न गर्नुहुन्छ । देवकोटाका निबन्धहरूमा हेर्नुहोस त, विशुद्घ भावना मात्र हुन्छ । कहाँ तिनीहरू परिचयात्मक अनुच्छेदबाट सुरू हुन्छन्, अनि अन्तिम अनुच्छेदको निस्कर्ष कहाँ निबन्धको सार हुन्छ र ? कुनै निश्चित बनावट नै पो हुदँैन । बिल्कुल स्वतन्त्र भई विनाउद्देश्य मगजको कुनाकाप्चामा फट्फटिएका भावनाहरू कुनैलाई पनि हराउन नदिई निबन्धभित्र सरल, अप्ठ्यारा शब्दहरूले सगाँल्न सक्नु नै उनका निबन्धहरूका सुन्दर्ता हो । वस उहाँलाई रित्तिनु थियो, र रित्तिनको लागि साहित्य थियो । धेरैपटक कवितामा रित्तिएका उनी नपुगेर निबन्धमा रित्तिए । कथा, नाटक र उपन्यासको विधामा पनि हाम फाले । र धेरै नेपालीहरूको आदर्शको पात्र बनेर युगयुग बाचिँरहका छन् ।

निबन्धको उद्देश्य के हुन्छ ? निबन्धको एउटै उद्देश्य हुन्छ कि यस्को कुनै उद्देश्य हुदैँन । कविताको पनि कहाँ उद्देश्य हुन्छ र ? जसले जुन अवस्थामा पढ्यो, त्यही अनुसारको बुझाइ निस्किन्छ । पाठकको शारिरिक, मानसिक, सामाजिक र भौगोलिक अवस्थाअनुसार नै कविता र निबन्धको सार निर्माण हुन्छ । निबन्ध र कविता निकटतम हुन्छन् । एउटाको गद्य अर्कोको पद्य रूप हुनेमात्र हो । एउटामा शब्दहरूको बढि घुइँचो हुन्छ, अर्कोमा सकेसम्म कम ।

निबन्ध कस्कोलागि लेखिन्छ— लेखकको कि पाठकको ? यदि म पाठकको लागि लेख्छु भने म अर्याली हूँ । हैन म आफ्नैलागि लेख्छु भने मेरो आदर्श देवकोटा हुन् । तर मैले लेख्न खोज्ने निबन्ध अलिक फरक छन् । र यही “अलिक फरक” लाई बयान गर्न नै मैले यत्रो भुमिका बाधेँको हूँ । यत्रो भुमिका पढ्ने फुर्सद तपाईँको कहाँ थियो होला र, तर मैले बाध्य पारेकोमा म पुनः एकपटक माफी माग्न चाहान्छु । माग्दैमा लिनै पर्छ, सगाँल्नै पर्छ भन्ने छैन, त्यसैले ।

म आफ्नोलागि लेख्न चाहान्छु, देवकोटा भएर । तर मैले लेखेका लेख पाठकहरूले पढ्छन्, त्यसैले उनीहरूले बुझ्नु जरूरी छ । सोही कारणले मलाई अर्याली पनि हुनुछ । मलाई थाहा छ म आफैमा प्रष्ट छैन, तर देखिन खोज्दैछु । म भावना लेख्न चाहान्छु, अनि सगँसगँै सबैले बुझुन् भन्ने पनि चाहन्छु । म मध्यमार्गी हुन खोज्दछु । तर कसरी सम्भव छ ताकी एकैपटकमा म देवकोटा पनि बनूँ र अर्याल पनि ? भावना कसरी बुझ्न सकिन्छ र ? न मैले आजसम्म कसैको भावना बुझेको छु, न कसैले मेरो बुझेको छ । बुझाउन प्रयत्न गर्न सकिन्छ तर बुझाउन सकिन्न । किनकी भावनाको कुनै भाषा हुदँैन । भाषा त केवल भावना अभिव्यक्त गर्ने अपुग र अपुरो आविष्कार मात्र हो । “कविज्यूको च्यङ्ग्रे खच्चर” कस्ले बुझेको होला र ? बुझेको ढोङ् गर्ने धेरै होलान्, तर बुझ्ने कोही छैनन् ।

म अर्यालझँै सरल शब्दहरूमा देवकोटाझैँ रित्तिन चाहन्छु । मेरोलागि चार वर्षअघिसम्म साहित्य लेखन नै नौलो चरो थियो । विस्तारै एकदुई कविता लेख्न सिकेँ । कविताहरूमा रित्तिएर स्खलित हुदाँको क्षण प्यारो लाग्यो र त्यसैमा बानी पारेँ । आजिवन म कविता लेख्छु भन्दिन किनकी बानी परिवर्तन हुन सक्छ । वर्षासुन्दरी, काली गुलाब, बुढो जड्याँहाको गीत, अजिव मान्छे, दुष्ट गिद्द आदिआदि कविताहरुमा जसरी म आनन्दित भएको छु,त्यस्तै आनन्द निबन्धहरूमा पनि पाइन्छ भन्ने मेसो पाएर म यतातिर पनि यसो ढल्कदैँ छुँ । म राम्रो, मीठो लेख्दिन । तीतो लेख्ने प्रयत्न गर्छु । म मिजासिलो भएर हैन, घमन्डी भएर लेख्न चाहन्छु । म तपाईँलाई हँसाउन हैन, रिजाउन हैन, म आफू रित्तिन निबन्ध लेख्छु । मेरो निबन्ध विना उद्देश्य कहिले मन्दिरमन्दिर, कहिले मसानमसान, भट्किएर हिँड्ने असन्तोषी आत्मा हो । कहिले देखिन खोज्ने, कहिले लुक्न रुचाउने बादल हो । पानी हो, वाफ हो , बरफ हो । कुनै रुप र बनावट छैन, तर पनि सम्पुर्ण हो ।

म भावनालाई निबन्धहरूमा समेट्ने कोसिस गर्छु, बाधेँर राख्न चाहन्न, पहरा र दिशा दिन चाहन्न । साथसाथै पाठकहरूलाई आराम होस, सुविधा होस भन्ने पनि चाहन्छु । तर म हसाँउन चाहन्न । यदाकदा तपाईँ हाँस्नु भयो भने निश्चिन्त हुनुहोस त्यो मेरो प्रयत्न थिएन । कुरूपतासित प्रेममा फस्ने कुआदत ममा छ, जुन अर्को भौगोलिक मिस्टेकले बाहेक अरूले बुझ्न नसक्लान् । त्यसैले म तपाईँको मुख तित्याउन लेख्छु । गालीगलौज गर्न लेख्छु । गुलियो र नम्र लेख्ने सयौँ छन्, फेरीफेरी जन्मिरहन्छन् । तर तितो लेख्छु भन्नेहरू बिरलै जन्मन्छन् । जीवनले अनि समाजले सन्तुष्टी दिएको भए पो बदलामा म त्यही फर्काउन चाहन्छु । म तीतो लेख्ने छु । धेरै तीतोको तपाईँलाई बानी पर्ला र अरू खाऊँखाऊँ लाग्ला, तर तीतो तीतो नै हो, तपाईँले थुक्नु हुन्छ ।

मेरो निबन्ध अदृश्य भावनाहरूको वेग र मसिनो कलमको गतीबीचको संसर्ग हो जसबाट मलाई स्खलनको अनुभूती हुन्छ, स्वर्गीय चरमानन्द मिल्छ । मेरो निबन्ध तीतो स्वादको एक परिकार हो— भान्सेले पकाइदिन्छ, खान्सेले खाओस् वा नखाओस् । तीतो मनपर्छ भन्ने मानिसहरू पनि भेट्टिन्छन्, त्यसैले तपाईँलाई मन प¥यो भने त्यो असाधारण होइन । थुक्नु भयो भने त झन् मेरो स्खलनमा आनन्दहरू थपिन्छन् । निल्नुहोस वा थुक्नुहोस, तपार्इँको विचार, तर मुखमा एक पटक अवश्य हाल्नुहोस् ।

No comments:

Post a Comment