हुदाँखादाँको जागिर थियो, उसले छोडिदियो । साहित्य लेख्छु भनेर कस्सियो । उसलाई साहित्यप्रति बढो झुकाव थियो ।
त्योभन्दाअघि उसले डेढ्दुई सय थान कविता कोरेको थियो । कविताले अझै उसको निजी—पुस्तिकाबाट घाटीँ उचालेर बाहिरी जगत नियालेको छैन । कारण, कविता रुचाउनेको जमात छैन । जमात कथा पढ्न रुचाउँछ ।
धेरै पनि हैन, जमात एउटा किताबमा एउटै कथा पढ्न रुचाउँछ । त्यसैले उसले पनि एक ठेली किताब पुग्ने एउटा लामो कथा लेख्ने सोच ग¥यो ।
यथार्थ कुरूप थियो उसको । त्यसैले परिकल्पनालाई विषय बनायो । कथानकको अस्थीपञ्जरलाई कागजमा उता¥यो । उपयुक्त पात्र जन्मायो । उनीहरूलाई नाम दियो । आवश्यकता अनुसारको भूमिका दिने वाचा ग¥यो । कति पात्र खुसी भएर बसिरहे । कति पात्रको चित्त बुझेन, उनीहरू हिँडे । उसले हिम्मत मारेन । जति पात्र बाकिँ थिएँ, त्यतीकै घटनाक्रममा आधारित भएर कथा लेख्ने उसले विचार ग¥यो । सुरुको अस्थिपञ्जरको चित्रमा थोरै बङ्गाइबुङ्गाइ गर्न ऊ राजी थियो ।
दाइजोमा आएको ल्यापटपमा उसले सुरु ग¥यो लेख्न । ट्याक—ट्याक—ट्याक ! उसको ट्याकट्याकले अर्थ पाउदैँ गयो । अर्थले पाना पाउँदै गयो । पानाले अध्याय बन्यो । अध्यायको सङ्ख्या बढ्दै थियो ।
ऊ खुसी थियो । प्ररित थियो । दिउँसो ट्याक—ट्याक—ट्याक, रातभरी ट्याक—ट्याक । गैर जिम्मेवारीपूर्ण ट्याक—ट्याक, उत्प्रेरक ट्याक—ट्याक ।
सजिलो थिएन । धेरै गाह्रो पनि भएन । लेखिभ्यायो कथा पूर्ण । कस्तो भयो, कस्तो भयो उसको कथा ? उसले दुईचार जनालाई देखायो । कथा ठीक छैन भनेर कसैले भनेनन् । सबले वाह्वाही गरे । उसले दङ्ग परेर प्रकाशकलाई देखायो ।
उसको नौलो नाम थियो, नौलो काम थियो । प्रकाशकले उसको कथा पढ्यो कि पढेन, उसलाई थाहा भएन । उसालाई यो मात्र थाहा भयो, प्रकाशकले उसको गालामा दुख्ने गरी चड्कायो ।
“अर्को प्रयास जरुर गर्छु,” राता गाला सुम्सुमाउँदै उसले विचार ग¥यो, “पहिला नयाँ जागिर खान्छु, अनि त्यसलाई छोडेपछि ।”
जागिर खोज्न कहाँ जाने ? ऊ सोचमग्न भयो, किनकी जागिर उसलाई खाज्दै आउने भएन । उसले सोचेको थियो आउला । तर आउने भएन ।
हिजो कुरा सरल थियो । आज जटिल भइदियो । यसो विचार गर्न थाल्यो, हुदाँ खादाँको जागिर थियो ।
No comments:
Post a Comment