म कठोर ढुङ्गा भइसकेछु ।
काठको बाकसमा खाँदिएर
हिजो फर्केको बाईस वर्षे युवाको लाशले
मेरो हृदय विह्वल पार्न सकेन ।
भाडाको एउटै कोठामा
त्यो कान्छो छोरो हुर्काउन
हाडनङ्ग्रा एक्लै जुधेकी
उसकी आमामाथि खसेको चट्याङ्ले
मेरो गाँसको आकार वा सङ्ख्या घटेन ।
कम्मरमा भिरेर गुच्चा खालमा आउने गर्थ्यो दाइ;
विहान, दिउँसो, बेलुकी
आमालेझैँ लिटो, टालो सुसार सबै उसैले गर्थ्यो ।
भाइको मृत्युको खबरमा
घोप्टी घोप्टी सासै अड्कने गरी
डाँको छोडेर खुब रोयो;
उसको चित्कारले मेरो निन्द्रा हरेन ।
विवाहको वाचालाई पर्खिरहेकी उसकी प्रेमिकाले
उसको तस्वीर टासिँएको ऐनालाई
दाहिने मुड्की हानेर फुटाइन्
र बगेको रगतले सिउँदो रक्तिम पार्दै
शिरानी च्यापेर बलिन्द्र धारा बगाइन् ।
चक्नाचुर भएको उनको सपनाको संवेदनामा
एउटा फूल विहान
गणेशको पाउमा चढाइन मैले;
म कठोर ढुङ्गा भइसकेछु ।
दशैँतिहार मुखमै आइपुगेको बेला
एउटा पुरानो चिनजान घट्यो, त्यति न हो,
नयाँले परिपूर्ती भइहाल्छ ।
अकाल मृत्यु भूगोलभित्रै अनगिन्ती,
किन थप पीर,
एक महिना
केही हजार रेमिट्यान्स घट्ने'भो, त्यति न हो ।
अर्को विदेशिन ठीक्क छ लाइनमा एयरपोर्ट,
त्यो गइहाल्छ, पैसा पठाइहाल्छ, देश चलिहाल्छ,
किन सन्तप्त हुनु,
भावनामा बहेर कहीँँ हुन्छ ?
No comments:
Post a Comment