गलत ठहरिन्छु म
तिम्रो मौनताको उपस्थितीमाकेके केके सोचिदिन्छ
मेरो शतानी दिमाग ।
कहिँ कतै भूल पो भयो कि
वा हुदैँ पो छ कि तत्काल
प्रश्न गर्छ सिसा भित्रको आकृतीसगँ
मेरो शैतानी दिमाग ।
कहाँ आउँथ्यो र जवाफ
प्रश्न गर्ने शैतान आफैँ
जवाफको खोजीमा चहार्दै हिँड्छ
मगजभित्र—
पल्टाउदैँ अतीतको पहिलो पाना
पढ्दै प्रत्येक हरफ ।
तर मौनताको कारण कहाँ एउटै हुन्छ र ?
कहाँ स्पष्ट हुन्छ र ?
बन्द हुन्छ पुस्तक
अनि धूवाँभित्रको कुनै कुनामा सुरक्षित थन्किन्छ ।
केही थाहा भएको अनुभूती हुन्छ ।
तिमीभित्रको मौनतालाई चिनेझैँ आभाष हुन्छ
अनि निहुरिन्छु म...
तर जब एक शब्द बोल्छौ तिमी
(बुझ्दिन जादु शब्द हो कि तिम्रो बोली)
गलत ठहरिन्छु म
गलत ठहरिन्छु म ।
No comments:
Post a Comment