Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

Dhobi Ra Uuska Bastuharu


धोबी र उसका वस्तुहरू 

एकादेशमा एउटा धोबी थियो । उसले एउटा गाई र एउटा गधा पालेको थियो ।

धोबीको घरभन्दा अलिक लगभग दुई घन्टा जति पर खोला बग्दथ्यो । धोबी त्यही खोलामा गएर लुगा धुने गर्दथ्यो । विहानको घरधन्दा भ्याएर ऊ गधालाई मैला कपडा बोकाएर खोलामा जान्थ्यो । दिनभर लुगा धोइनभ्याउन्जेल गधालाई त्यतैतिर वगरको बालुवामा चराउन छोडिदिन्थ्यो । लुगा धोइभयाएपछि बेलुका चीसा कपडाको भारी गधालाई बोकाएर ऊ घर फर्कन्थ्यो ।

धोबीको जहानपरिवार कोही थिएन । आफ्नो भन्नु मात्र त्यही गोठका वस्तुहरू थिए । भारी बोक्नको लागि गधा पालेको थियो, दुध र मलको लागि गाई पालेको थियो ।

धोबीलाई हरेक दिन भ्याइनभ्याई हुन्थ्यो । एक्लो ज्यान भनेर के गर्नु, भान्साचुल्हो गर्नै प¥यो, घरगोठ लिप्नपोत्न परिहाल्यो, खेतबारी पनि बाँझो राख्नु भएन, चाडपर्वहरू परिवार नभए पनि घरमा पाहुना लाग्न आउँथे, तिनीहरूलाई पनि रितपूर्वक स्वागतविदा गर्नै प¥यो । मर्दापर्दाका छरछिमेकसगँ सरसङ्गत पनि भ्याउनै प¥यो, नत्र एक्लो भइने पीर । टाढाटाढाका आफन्तहरूको पनि खबरसमाचार जानिराख्नु प¥यो, नत्र बेखबरी भई एकलकाटे कहलाइने पीर । धोबी हप्ताको सातै दिन र दिको सबै प्रहर व्यस्त नै रहन्थ्यो ।
यसरी व्यस्त हुदाँ गोठका वस्तुभाउलाई स्यहाँर पुग्थेन । गोठका झ्यालढोका बेलामा उघ्रन्थेनन्, खोलेपानी बेलामा नियमित हुन्थेन । चर्न जानेको त के कुरा, ती वस्तुहरूले समयमा र पुग्ने गरी घाँसस्याउलासमेत पाउँथेनन् । यसै कारण धोबीका दुबै पाल्तुहरू दुब्लाख्याउटे थिए ।

आफ्ना गोठका वस्तुहरू दुब्लो भएको कारण धोबीले नबुझेको भने थिएन । खोलेपानी, पत्करभकारो, घाँसस्याउला बेलामा भए पो बस्तुभाउ पुनः मोटाखाइलाग्दा हुन्छन् भन्ने बुझ्दाबुझ्दै पनि व्यस्तताको कारण धोबीले आवश्यक सुसार पु¥याउन सक्थेन । उसको आफ्नै त सुत्नेउठ्ने ठेगान हुन्थेन, खाजाखाना पनि भ्याउँदा मात्र खान्थ्यो । अरूको काम गरिदिएर आफ्नो जिविकोपार्जन गर्नुपर्नेहरूले अरू र अरूका कामहरूलाई विशेष प्राथमिकता दिनुपर्छ भन्ने मान्यता धोबीको हुन्थ्यो । यस्तो सोच र इमान्दारिताका कारण उस्को काम र कमाइ दिनप्रतिदिन बढ्दो थियो । चाजोँपाजोँ मिले यसै मङ्सिरमा एउटी दुःख पाएकी केटी भिर्ने उसले सोच बनाएको थियो ।

बेलामा खान नपाउँदा गधा सधैँ चर्को विद्रोह गथ्र्यो । “ढ्याँ ढ्याँ” गर्दै डुक्रिएर साह्रै दिक्क लगाउँथ्यो । त्यसको कराइ र अधैर्यताले त्यो धोबीदेखि निकै चिढिएको थियो भनी बुझ्न सकिन्थ्यो । कामचाहिँ दयामाया नराखी डङ्गुरका डङ्गुर लगाउने, अनि खान चाहिँ समयमा नभएपछि, पुग्दो नदिएपछि कठै पशू उफ्रिएर किल्लै उखेलूँ, दाम्लै चुढाऊँ जस्तै गर्दथ्यो ।

“पख्न हे डाम्ना, गर्दै त छु !” परबाट खाली नभइसकेको हात लिएर धोबी गधालाई सराप्थ्यो । गधा न थियो, कहाँ बुझ्थ्यो । रिसले धोबी चुर भई लुगा चुट्ने मुङ्ग्रा लिएर गई गधालाई मारी चुट्थ्यो । “असन्तोकी डाम्ना, तेरिमा स्यालको आहारा ! बीस मिनेट ढिलो हुदाँ त डाम्नाको समेत मैँले घुर्कीनेप्रयाइँ सहनुपर्ने ? घोप्टेभिरबाट तल हु¥याएर नआए तँलाई पख ! ”

अर्को किल्लामा सोझी गाई भोको पेट लिएर टुलुटुलु हेरिरहन्थिन् । बेलामा खान नपाउँदा ऊ गधाले जस्तो विद्रोह गर्दिनथिइन् । आफू दिनप्रतिदिन कमजोर बन्दै गएको उसले थाहा नपाएको भने होइन । छिमेकीका मोटाघाटा गाईगोरूहरू उसले नदेखेको पनि होइन । भोक खप्नुपर्दा, चर्न जान नपाउदाँ, अरू गाई गोरूसगँ सँगत गर्न नपाउदाँ उसको मनमा पनि असन्तुष्टि हुन्थ्यो । तर त्यसलाई व्यक्त गर्न खोज्दिन थिइन् । वा सक्थिनन् । अथवा सायद गधाले भोगेको परिणामले तर्साउथ्योँ कि ?

“सगैँ बाधेँको गाईलाई कराउनु पर्दैन, तँ डाम्नालाई भोक लाग्छ खुब !” खुबै चुटाई भेट्थ्यो विचरा गधाले ।
स्यहाँर कम, काम र चुटाइ धेरै, गधा झनै दुब्लोकम्जोर देखिन थाल्यो । तर पनि विद्रोहीपना त्याग्थेन । धोबीको पनि ऊप्रतिको व्यवहार फेरिन्थेन । कामको बोझ, धोबीको चुटाइ र दुब्लो शरिरका कारण गधा अकालमै म¥यो ।

गधा मर्दा धोबीलाई परिवारको सदस्य नै मरेजस्तो भयो । तुरून्त अर्को गधा किन्न पनि सकेन । आफैँले नाम्लो लगाएर लुगाको भारी बोक्नुपर्ने भएपछि त झन उसको दैनिकी झनै चौपट भयो । सुत्नेउठ्ने, पकाउनेखाने समय, काममा निस्किनेफकिने समयसमेतको टुङ्गो हुन छोड्यो । गोठको गाईलाई त झनै समय दिन सकेन ।

विचरी गाईले गधा मरेपछि गोठमा एक्लो महसुस गर्न थालिन् । धोबीको चुटाइले चोटिएको गधालाई सोझी गाईले कति सम्झाउथिन् धैर्यशील बन्नको निम्ति । त्यही नमानेकोले गधाले त्यस्तो नियती भोग्नुपरेको थियो । तर अचेलभर गाईलाई गधाले जानाजान त्यस्तो नियतीलाई निम्तो दिएको हो कि भन्ने जाग्न थालेको थियो ।

“खानपिन छैन, काम मात्र दस डङ्गुर ! यो धोबी न आफू खान्छ, न हामीलाई खुवाउँछ । खाली पैसा, खाली काम ! यस्तो द्रब्यपिशाच मालिकको शासनमा बाँचेर कष्टैकष्ट भोग्नुभन्दा बरू मृत्यु स्वीकार्य छ मलाई । आखीर मृत्यु नै हामी दाम्लाधारीहरूको परम मोक्ष हो क्यारे ।” धोबीले रूञ्चे श्वरमा भनेको गाईले सम्झिइन् ।
गधाको कुर गाईलाई पनि ठीक लाग्न थालेको थियो । तर विद्रोह उसको रगतमा थिएन । त्यसैले जति अन्याय हुदाँ पनि ऊ कराउदिनथिई । “विहान खान नदिए पनि बेलुका त भोकै नराख्लान् नि मालिकले, मालिकको विहे भएपछि त सबै ठीक होला नि ।” यस्तैयस्तै ऊ सोच्थिन् । र नजिकबाट कहिलेकाहिँ धोबी ओहोरदोहोर गर्दा पुच्रछरलाई चेपारे पारामा हल्लाई खानेकुरा फकाउथिन् ।

बेलामा खान दिन बिर्सिए पनि दुध बेलामा दुहुन कहिल्यै बिर्सिन्थेन धोबी । ठ्याक्ठ्याक् बाल्टिनी लिएर एकै समयमा धोबी टुप्लुकिन्थ्योँ, तर पनि गाई कुनै प्रतिवाद जनाउन्न थिइन् । धोबीको रिस उसलाई थाहा थियो । दिनहूँ चुटिनुभन्दा अन्याय सहनु र भोलिप्रति आशावादी बन्नु नै गाईको जिन्दगी बन्न पुग्यो ।

गधा मरेपछि कामको बोझले सालभर धोबी निकै व्यस्त भयो । मङ्सिरले पनि फागुनसम्मको भाखा राखेर त्यसै बित्यो । फगुनले बैशाखको, बैशाखले असारको भाखा माग्यो । अनि असारले पुनः मङ्सिर नै रोज्यो । सालभर धोबीको दिनचर्या एकैनासे रह्यो । उठ, काम । खाऊ, काम । सुत्नुअघि आयव्यको हिसाब ।

गाईले गधाको खुबै न्यास्रो मान्थ्यो । जे भए पनि एउटै गोठ बाडेँर सगैँ निदाएको साथी थियो । मनको वह पोख्नलाई गधा भए पनि त हुन्थ्यो । गधा मरेपछि गाईको कोही पनि भएन । भोलि बेलामा खान पाइएला, गोठ आभानो होला, घाम ताप्न पाइएला, आदीइत्यादी आशा राख्ने गाई भोलिको दिनमा गोठको दैलो उघार्दा त मरि पो सकिछन् ।

अझ चार वेत ब्याउने उमेर बाकिँ रहेको गाई अचानक मर्दा धोबीलाई निकै तनाव प¥यो । “अकालमै मर्छन् मेरा पाल्तुहरू, अबदेखि केही पनि बाँध्दिन गोठमा ।” चारजना छिमेकीहरूका सहायताले गाईको लाश पुर्दैगर्दा उसले धेरै पटक दोहो¥यायो ।

No comments:

Post a Comment