याँ यी खप्परमा म गर्भवती छु ।
वर्षौँ देखि यो प्रसववेदना कचल्टिएको छ ।
मेरो बच्चो थोरै बाहिर, डल्लै भित्रको अवस्थामा छ ।
पीडामा छु । बल गर्दै छु ।
जसरी मेरो गर्भ अनुभूत छैन,
त्यसरी नै अदृश्य छ मेरो पीडा ।
खाएको भोजनले मेरो खुराक पुग्दैन ।
स्ङ्कुचित चालचलनले मेरो सुसार पुग्दैन ।
जे छ, जसो छ, कोसिसको चाङ् चाहिएको छ ।
युगकाे प्रचण्ड गति अद्वितीय भएको छ ।
परिवर्तनको विस्तृत परिभाषा गर्न
शब्दकोषमा निकै पाना थप्दा पनि भा'छैन।
मिलेर एकापसमा चरमान्नदित भई बस्न पुग्ने विकासको युगमा
आँखामा पतित स्वार्थको फेटा कसेर
भव्य तामझामका साथ
लडाइका उन्नत बीऊ रोपेर जात्रा गर्दैछन् ।
क्षयोन्मुख छन् दुई भूगोलका मानिस जोड्ने लिसोहरू ।
अनुशासनहीन व्यवहार, स्वीकरणीय भ्रष्टाचार ।
पक्का हो पुराना देवताहरूले
यो खुम्चिएको आधुनिक संसारमा धर्म थाम्न सकेनन् ।
बिस्तारै असान्दर्भिक भएर जानेछन् ।
तर धर्म असान्धर्विक सभ्यता रहुञ्जेल हुदैँन ।
त्यसैले छुट्टै देवल बनाएर नव-देव-आगमनको प्रतीक्षामा
एक्लै
चरेसधूपले आरती गरेर बसेको छु ।
पीडा बिर्सन्छु यस प्रकारले ।
No comments:
Post a Comment