नटुङ्गिने गोरेटो तिम्रो गाउँको
उल्टा पाइला पछ्याई हिडेँ ।
जुनेली रात,
अन्तरिक्ष समयपश्चात,
एकछिन
एक्लै
अतितकाे खुमारीमा वर्तमानको परिधी
भित्र तीन फन्को रुमल्लिएँ ।
बजार बसेछ, गाँठे, बस्ती बढेछ ।
सम्झना मनमा दुरुस्तै तर
तिम्रो ठाउँ फेरिएछ ।
घामपानीले मक्किएछ चोकनेरको मन्दिर ।
बिकासले निलेछ मन्दिर छेउको चौतारी ।
नआउँदा रै'छन् प्रेम चरी अचेल खोली किनारतिर ।
नखेल्दा रै'छन् कसमका फूल आरूको बोटैमा ।
झेलिङ्गा छैन, फट्याङ्ग्रा छैन,
ब्याधा तीनका भँगेरा छैन ।
जुरेली निख्रिए, ढुकुर सिद्धिए,
गुँड लाउन अग्लाबलिया वृक्ष छैन ।
घर अग्लिएछ, आँगन खुम्चिएछ,
फाजिल कोठा सजिलो व्यापार, गल्ली सुन्निएछ ।
तिमी खुब गाउँ छोडेर शहर गाकि'थ्यौ ।
तिम्रो गाउँ यही रूप फेरेर शहर भाको' छ ।
No comments:
Post a Comment