म सुत्न खोज्दै छु
विश्वास, प्रेम, सदभाव,एकता, सहमती, मेलमिलाप
इतिहास प्रकाशित हुने पत्रिकाको ठूला पानाहरूमा
काचाक्कुचुक्क पोको परेर
स्वार्थ र भ्रष्टाचारको नग्नघर्षणले उर्जित अग्नीभित्र
डढेर अङ्गार भइसकेछ ।
अनि त्यही खरानी शरिरमा घसेर
आफूलाई त्रिलोचनधारी साबित गर्न
ठुलाचर्का भाषणहरू
प्राचीन मुलुकको आधुनिक शहरवस्तीहरूमा
जताततै सुनिन्छ ।
शब्दले सामथ्र्य पनि बोल्दछ
न केवल मात्र विचार
रित्तो रङ्गमञ्चमा बाध्यात्मकजस्तै अभिनय
वाचाल निर्देशक, कलाकार कठै लाचार ।
हल्लैहल्ला, चल्लैचल्ला, डल्लैडल्लाको देश रे यो
यहाँ हुरीले एउटालाई होइन भीडलाई उडाउँछ ।
केही बेरपछि प्रकृती शान्त हुन्छिन्
पर पुगेर जसोतसो सम्हालिएपछि भीड हाँस्दछ,
“हा, हा, हा !
त्यो एउटा कति लुरे हा हा हा !”
हो न हो
त्यो एउटा पनि दगुर्दै भीडतिरै होमिन्छ ।
त्यस्तो देश यो ।
गर्न खोज्नेको मनोबल गिराउन यहाँ
प्रत्येक पाइलामा छिर्की मार्नेहरूको कत्ति कमी छैन
फेरि बतासले नउडाएकाहरूले गर्न नखोज्ने पनि होइन
खाल्डोमा परेको यो देश
यहाँ जान्नेसुन्नेहरू नै सगँठित भएर
बाहिर निस्किने आडम्बरी उदघोष गरी
झन गहिरो खाडल खन्दै छन् ।
र भित्र कतै एक आरामदायी कुनामा
न्यानोको अविष्कार गरी मीठो निन्द्रको सपनामा
‘लाइट अफ’ गरी म
सुत्न खोज्दै छु ।
No comments:
Post a Comment