कति पर्छस् ए अलच्छिना पानी, रोकिदे,
अङ्कुसे-बीड कालो छाताको ओत भो अपुग् ।
ती मकै पोल्न बसेकी बहिनीको आगो निभाइस् ।
हाँडिघोप्टे, मुसल्धारे दर्किएर परिश्रमी पेटमा लात्ती हानिस् ।
चोकमा मान्छे उभिन्थेँ, यसो गफिन्थेँ ।
बहिनी छड्के निहुरिएर आगो हम्किन्थिन् ।
फू फू फुक्दै भुङ्रोमाथि घोगा घुमाउथिन्,
यताउती मस्किन्थिन्, खोस्टा नङ्गाउथिन् ।
दृश्यले मकैचरी भोकाउथेँ ।
व्यापार हुन्थ्यो ।
बहिनी दुई पैसा समाउथिन् ।
खर्च पुग्थ्यो ।
थोरै जोगिन्थ्यो ।
स्याहर्नलाई वर्तमान छ, भविष्य छ ।
विगतले यसै नि पहिल्यै बेस्सरी थिचेको छ ।
कलिलो अनुहार, सिन्दुरपोते व्यवहार,
बोर्डिङ्मा छोरा, खाडीमा खसम, बुढा सासुससुरा
सहित कुरिरहेछ कलङ्कीको
सस्तो गल्लीभित्र महगोँ घरमा
दुई कोठे डेराको
भोको भान्छा ।
भोको छ पेट उस्को आफ्नै पनि, गह्रौ छ टाउको,
निधारमा फेटा कसिछन्, सपना छ चार आना माटोको
यही खाल्डो भित्र ।
हुन दे, रोकिदे, होस् तँ, छस् तँ, जान्यौ हामीले
पाप प्रकृतीलाई नि लागोस् पौरखीलाई सताए !
भो अब रोकिदे,
विहानदेखि चार घोगा नि बेचेकी छैनन् ।
No comments:
Post a Comment