Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

पतनको यात्रा

खुला आकाश, पूर्णचन्द्र उजेलो, अन्तिम एकादशीको रात,

फराकिलो, सजिलो सडक, ढुक्चुक ढुक्चुक घोडाको ताल 


मोहक गन्तव्य कपटको, कल्पिसकेँ, अब फर्किन्न कसैगरी,

दास म निधोको, मालिक तकदिरको, अब फर्किन् कसैगरी


देवताजत्तिकै समान हको दानव, यस धरतीमा सब बराबर,

सही गलत मान्छेको दर्शन, निर्दोष्य छैन कोही, सब बराबर 


जित्नेकै भाष्य हो इतिहास, घिच्च्याहट हरुवापिँढीको हार,

झुट थियो युधिष्ठिरले निलेको पाप पुण्य पनि, गौरव बेकार


जन्मै पहिलो जीत विना कर्म स्वयंक‍ो, मृत्यु शाश्वत अन्तिम

खाऊँ, लाऊँ मैँ, सयलबयल गरिरहूँ मैँ, मृत्यु शाश्वत अन्तिम

देशको गन्थन

 म कठोर ढुङ्गा भइसकेछु ।

काठको बाकसमा खाँदिएर

हिजो फर्केको बाईस वर्षे युवाको लाशले

मेरो हृदय विह्वल पार्न सकेन ।


भाडाको एउटै कोठामा

त्यो कान्छो छोरो हुर्काउन

हाडनङ्ग्रा एक्लै जुधेकी 

उसकी आमामाथि खसेको चट्याङ्ले

मेरो गाँसको आकार वा सङ्ख्या घटेन ।


कम्मरमा भिरेर गुच्चा खालमा आउने गर्थ्यो दाइ;

विहान, दिउँसो, बेलुकी

आमालेझैँ लिटो, टालो सुसार सबै उसैले गर्थ्यो ।

भाइको मृत्युको खबरमा

घोप्टी घोप्टी सासै अड्कने गरी

डाँको छोडेर खुब रोयो;

उसको चित्कारले मेरो निन्द्रा हरेन ।


विवाहको वाचालाई पर्खिरहेकी उसकी प्रेमिकाले

उसको तस्वीर टासिँएको ऐनालाई

दाहिने मुड्की हानेर फुटाइन्

र बगेको रगतले सिउँदो रक्तिम पार्दै

शिरानी च्यापेर बलिन्द्र धारा बगाइन् ।

चक्नाचुर भएको उनको सपनाको संवेदनामा 

एउटा फूल विहान 

गणेशको पाउमा चढाइन मैले;

म कठोर ढुङ्गा भइसकेछु ।


दशैँतिहार मुखमै आइपुगेको बेला

एउटा पुरानो चिनजान घट्यो, त्यति न हो,

नयाँले परिपूर्ती भइहाल्छ ।

अकाल मृत्यु भूगोलभित्रै अनगिन्ती, 

किन थप पीर, 

एक महिना 

केही हजार रेमिट्यान्स घट्ने'भो, त्यति न हो ।

अर्को विदेशिन ठीक्क छ लाइनमा एयरपोर्ट,

त्यो गइहाल्छ, पैसा पठाइहाल्छ, देश चलिहाल्छ,

किन सन्तप्त हुनु,

भावनामा बहेर कहीँँ हुन्छ ?

हुरी

भर्खर निदाएको मात्र थिएँ
हिजो मध्यरातमा आधोँ हुरी चल्यो,
डाङ्डाङ्, डुङ्डुङ्, हार्र, हुर्र !

ढोका नलगाई सुत्ने बानी आफ्नो,
हुरी सरासर भित्रै !
पहिला भान्सा कोठामा पस्यो ।
तीन दिन देखि नजलेको चुल्हो,
ढुसी उम्रिसकेका उब्रेपाब्रे,
जुठाभाडाँ असरल्ल भूइँभरी,
साङ्लालाई मनपरी भतेँर,
पानी खान्छु भन्दा समेत चोक्टै चोक्टा ।

रिसले हुन्हुनिदैँ हुरी
मेरो अध्ययन कोठामा छिर्यो ।
रहरले भित्ताजत्रै बनाएको
मभन्दा आधा उमेरको मेरो बुक-सेल्फ,
जस्को पनि आधा उमेर खुब सक्रीय बित्यो
र रित्तिन थालेको भर्खरभर्खर थियो,
मिहिन दृष्टिले केलायो ।

निष्प्रभावित मुद्रामा दाह्री कन्याउदै
थ्याच्च मेरो कुर्सीमा बस्यो,
कब्जियतले ग्रसित भएर थला परेको मेरो नोटबुक 
टेबलबाट टिप्यो, टक्टकायो र पल्टायो ।
पहिलो पानामै ओठ चेप्र्यायो, कन्चेटी कन्यायो,
र थप पाना कविताहरू खरर्र पल्टायो ।

देब्रे हातको नाडी बटारिनु नै थियो, अहिल्यै कि एकछिन,
हस्याङ्फस्याङ्, जुरूक्क उठ्यो,
दाहिने हातले नोटबुक टेबुलमै छोडिदियो,
खुला रहेको झ्यालको खापालाई ढ्याप्प लगाइदियो
र फन्किएर कोठा बाहिर निक्लियो ।

यता म सुत्ने कोठामा पनि आउँछ
र त्यसलाई घोक्रयाएर 
त्यो सगँबाट लय लुटी राख्छु
र घर फोर्दै हिँडेको आरोपमा थुनाइदिन्छु 
भन्ने योजनाले 
त्यसलाई ढ्याप्पा दिन 
ढोका पछाडी आग्लो अँठ्याएर 
तयार थिएँ ।

मूला हुरी त मेरो कोठामा नछिरी सरासर गैदि'रा ।

प्रतिस्पर्धा

 पछाडिको जोर गोडा थुतिएको कमिलो

दुवै पखेटा पालैपिलो उखेलिएको झिङ्गो

प्रतिस्पर्धा एक दाना चिनी तीन बीत्ता पर्तिर

सास छन्जेल आश हुनैपर्यो, पेट छन्जेल दास ।

मरिमेटी अघि सर किरो, सृष्टिलाई शरम आउँदैन,

जन्म नचहादाँ नचहाँदै, चहाँदैमा मृत्यु आउँदैन,

विकार गाँठिएको छ ब्रह्माण्डको जिलोसम्मै,

एउटा जीवनको मूल्य छैन, एउटा मृत्युले केही सुल्झदैन,

निरन्तरता हुनुपर्दछ यान्त्रिक, स्याबास भाइ, सब ठीक,

एक चटाइ मात्र गुलियोको सब थोक जिन्दगी तेरो ।

किन, केकसो सोध्न वर्जित, तँ झिगाँकमिलाको बुद्धि छैन,

डाँडापखेरा कुनाकन्तराका बसोबासी तिमेरू,

परिवर्तित विश्वमा परम्परा, संस्कृती, पहिरन, रहनसहन,

सब गरीब तिमेर्को आवाज माथि पुग्दैन प्राथना प्रलाप हो शैतानको खुट्टामा । कर्मको यान्त्रिक निरन्तर्ता तिमेर्को

आजैदेखि मृत्युलाई तयारी । प्रश्नले सत्यसम्म पुर्याउँछ, 

सत्यसगँको प्रेमले विद्रोही जन्माउँछ । 

त्यस सन्तानलाई मर्न गाह्रो हुन्छ ।

त्यसैले हिँड भाइ किरो, एक चटाइ मात्र गुलियो 

भए पनि होवस् जिन्दगीमा तेरो, प्रतिस्पर्धामा अर्को छ फेरी ।

पुग्न त पुग्छ छेत्तोखेलो, तर सवाल हुनु नहुनसगँ होइन ।

बाँडफाँडमा गल्ती छ, टाउकाभित्रको डिजाइनमा

दोष छ । सवाल त्यो टाउकालाई आकृष्ट

राखिरहनु पर्ने छ, मनोरञ्जित पारिरहनु पर्ने छ ।

र त प्रतिस्पर्धा छ को पहिला पुग्छ, 

कस्ले कति पटक गुलियो चाट्छ ।

हाम्रो नेपालमा

आकार लिनुभन्दा अघि त्यो बादललाई

कहाँ झर्छु, थाहा हुदैँन ।

पुत्तिनुभन्दा अघि यो धूवाँलाई

कहाँ विलाउँछु, थाहा हुदैँन ।

कुद्नुभन्दा अघि त्यो पानीलाई 

कहाँ जम्छु, थाहा हुदैँन ।

चोइट्टिनु भन्दा अघि यो चट्टानलाई 

कति पटक, थाहा हुदैँन ।


त्यो झर्दै जान्छ, यो विलाउँदै गर्छ 

त्यो जम्दै गर्छ, यो चोइटिँदै जान्छ

के कहिले कोसँग कहाँ कसरी जेलिन्छ

जानेर जानी नसक्नु, किन हुन्छ जे हुन्छ ?


प्रत्येक पल नवीन छ, ज्या, थियो भर्खरै !

प्राचीन भएर कुहिनेछ, त्यस्ता कतिकति ।

परिघटना प्रत्येक पल, चमत्कार, संयोग,

बिज्ञानको साथ लेऊ अधकल्चो ज्योती,

चाहे मन्दिर जाऊ, मण्डली, मस्जिद जतै,

अपूर्णतालाई पूर्ण स्वीकार्नु पर्ने बाध्यता ।

कुण्डकुण्ड पानी, मुण्डमुण्ड लालचस्वार्थ,

समाजको गुरुत्वाकर्षण यो, अदृश्य हात ।

क्रेता उपभोक्ता जो पनि, राज्यै व्यापारी

ठूलो सबैभन्दा बेच्छ जन्ममृत्यु दर्ता मनपरी,

विनाबर्दीका प्रहरी कानुन मिच्नमा तल्लिन,

कर्मचारी मुनि मुनि हात बटार्नी, माथि ठिक्क,

झोला बोक्दिने विज्ञ सक्षम, देशमा योजना

तिनका जुका मोटाउने दाउ, सिस्टम सहजकर्ता,

कुर्सी पहरेदार भैपरी आउने दायित्वको,

रोष्ट्रमबाटै बोलिदिन्छु पर्दैन तिर्न व्यापारीले

राज्यलाई, मलाई चुनाव खर्च पोषे पुग्छ ।

क्या सगींन, क्या रगींन, कालो पैसाको मुख,

त्रिनेत्र उघ्रेको दोष खेप्छन् शिव, चिलिम स्वाँट्ठ,

सन्तानलाई दण्डित किन गर्नु, बरू भुल्छन् 

आएको रुप एकसिगेँ मृग, क्रीडास्थल भुल्छन् 

बाग्मती, दुधको स्नान, सुनचादीँ गजूरभेटी, भव्य आरती ।

चिलिम स्वाट्ट, डमरु डमट् डमट्, ताण्डव वैरागी जाग्छन्,

नन्दी सवारी, भैरव गण पछाडी, नभमा कौवाझुण्ड लस्कर

जुन बाटो सत्तेजुग आएका थिए, पहिल्याउँदै त्यतै लाग्छन् ।

हितैषीसँग

 म शब्द दिन्छु तिमीलाई, भावनाले शृङ्गार्नु तिमी

जन्मिएको कविता हामी भट्याउँला मिलेर

नख्खु किनारैमा, लै बरी लै काशको ताल टिपेर ।


अनि कस्तो रहेछ त विदेश ? कस्तो भयो बसाइ उता ?

दह्रो मोज भो होला हैन ? खै, के ल्यायौ त हामीलाई ?


सुख कति हुँदो रै'छ, दुख कति, घर कति सम्झियौ ?

याद कति आयो आमाको बाको, साथिभाइ, तिहारको ?


कति बस्छौ, कहिले फर्कन्छौ, आज नाइट हानौँ हुँदैन ?

भाले काटौँला, आगो बालौँला, लोकलले छुन्छ छुदैँन ?


कति के कमायौ, जोड्यौ के कति, पुग्यो कति सोचेको ?

सम्झौतै हो भन्दैथ्यौ आखीर, के के बेच्यौ, के किन्यौ ?


हामी त  त्यही पखेटा नभा' चरा, कुवाको भ्याकुता

जहीको त्यहीँ, एकर्काको कोखा ठुङ्यो, पुग्नु छैन कहीँ

प्रश्नले घेरेरै, एकापसलाई पेचेरै, गर्छौँ अझै मनोरञ्जन् ।

मेरो कविता गन्हाउँछ

 अलिअस्ति त्रिशूलीले बगाएको 

दुई यात्रुबसभित्रका बेपत्ता लाशहरू 

ढाडिएर, फुलेर, 

सडेर, गलेर

मेरो कविता छेवैमा आन्दोलन गर्न आएका छन् ।

मोक्ष जिवितहरूको मात्र जित हो जस्तो लाग्ने गर्थ्यो ।

मलाई गलत बनाउदैँ

मेरो कवितामाथि ढुङ्गामुढा गर्दै ती लाशहरू

घरमा खाना, विछ्यौना कुरेर बसेका परिवारले

अन्तिम पटक देख्न पाउन् भन्ने माग राखेर

नाराबाजी गर्दै बिरोधमा उत्रिएका छन्-

असुरक्षित बाटाे, मुर्दावाद !

निर्माणकार्य अलपत्र पारी छोड्ने ठेकेदार, मुर्दावाद !

मृत्युको जिम्मा नलिने राज्य, मुर्दावाद !

अनुशासनहीनता, दण्डहीनता, मुर्दावाद !

भ्रष्टाचार, मुर्दावाद !


एउटा जान्छ, 

माथि पाखाबाट गतिलै रूख ढालेर ल्याई

बीच बाटामा तेर्स्याउँछ ।

अर्का दुईजनाले तल बगरबाट ढुङ्गा बोकेर ल्याई  

पसारो पार्छन् ।

तीन जना अर्धनग्न भएर लम्पसार सुतेका छन्,

बाँकी पछाडी घेरिएर आवाज दिइरहेका छन्-

असुरक्षित बाटाे, मुर्दावाद !

निर्माणकार्य अलपत्र पारी छोड्ने ठेकेदार, मुर्दावाद !

मृत्युको जिम्मा नलिने राज्य, मुर्दावाद !

अनुशासनहीनता, दण्डहीनता, मुर्दावाद !

भ्रष्टाचार, मुर्दावाद !


आईमाई, वृद्ध, केटाकेटी, दलित, आदिवासी,

जनजाति, अपाङ्ग, मज्दुर, पूजीपती,

सबको समावेशी प्रतिनिधित्व छ ।

उनीहरूको चर्को प्रदर्शनले 

राजमार्ग अवरूद्ध भएको खबर

सिहंदरवारभित्र पुग्यो ।

मुर्दाहरूको अभूतपूर्व आन्दोलनले देशैभरी

आँधी सृजना गर्न सक्ने आँकलन गरी

त्यसलाई दबाउनै पर्ने निर्णय मन्त्रीपरिषदबाट 

सर्वसम्मतले पारित भयो ।


तीन भ्यान प्रहरीहरू आए ।

जिउँदालाई त न्याय दिदैनौँ हामी मुलुकमा,

भयो आन्दोलन रोक्नुस भनेर तर्साए ।

नमानेपछि झडपको स्थिती भयो ।

कुटाकुट, ढुङ्गा, भाँटा हानाहान, टियर ग्याँस, लाठिचार्ज...

भागदौडमा केहीका गलेका हातखुट्टा उच्छिट्टिएको थियो,

केहीले कुहिएको मासुरगत छोडेर गएका थिए,

एउटाको त अझ सडेको गिदी नै छरपष्टिएको थियो ।

नगरपालिका आज स्थानीय बिदामा छ,

फोहोर नउठ्ने भयो ।

त्यसैले दुईचार दिन अझै

मेरो कविता गन्हाउँछ ।