एक थरी विशिष्ट जीव हुन्छ,
दुई हात, दुई खुट्टा,
दुई आँखा, दुई कान, एक नाक, एक मुख ।
खान्छ, सुत्छ, हग्छ,
भालेपोथीको संसर्गले सन्तान जन्माउँछ ।
समुहमा बस्छ,
आफू र आफ्नो परिवारको लागि प्रतिस्पर्धा गर्छ, सङ्घर्ष गर्छ ।
चेतनशील हुन्छ, घर बनाउँछ ।
देवताको आविष्कार गर्छ, मन्दिर बनाउँछ ।
आध्यात्मिक हुन्छ, धार्मिक हुन्छ ।
अर्काेलाई आदर गर्छ, प्रेम गर्छ ।
कलात्मक हुन्छ, शृजनशील हुन्छ
दीनदुखीको भलो गर्छ, रक्षा गर्छ ।
समस्या धर्तीमा कतिकति, मिलेर हल खोज्छ
समय लगाएर हल खोज्छ ।
अन्याय सहँदैन, बलिदान दिन्छ
आतङ्क रुचाउँदैन, शान्ती जप्छ ।
देखेको छौ त्यो जीव ?
यता हिमालय काखको तपोभूमी कान्तिपुरीतिर भेटिन्छ रे
भनेको सुनेर हुत्तिएर आएँ ।
"जाऊ बाबु फर्क एक तर्फ बहेको चिसो कुहिरो जस्तै
नागबेली खोचैखोच दक्षिण ललितपुरको पहाड
परिचय बोकेको तिम्रो कालो झोला
बैतरणी खोलामा मिल्काइदेऊ,
कालले त्यतै किनारतिर तपश्या गरेर कालेश्वर बने
त्यतैतिर जाऊ तिमी झट्टै ।
अचेल त्यागी सागर दाइ त्यता माथि मन्दिरमा
पूर्णकालिन ज्ञानको चियाबिस्कुट पिलाउन बसेका छन् ।
उनैलाई सोध कहाँ भेटिन्छन् तिमीले सोधेको त्यो जीव ।
हुन त उनी मौन बस्छन्, तर प्रश्नको उत्तर लेखेर दिन्छन् ।
उनीसँगै अर्धनग्न भएर बस, तिमीलाई सङ्गीत सिकाउँछन्
जिन्दगी पनि सिकाउलान् ।
भने उनैले भन्छन् तिमीलाई कहाँ भेटिन्छ त्यो जीव,
यो खाल्डोमा त खै, पाइदैन ।"
No comments:
Post a Comment