Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

राष्ट्रियता

 मैँले सप्रेम स्वीकारेको छु 

मतलब नबिर्स मसँग विकल्प थिएन,

म भर्खर झरेको मात्र थिएँ आमाको कोखबाट,

र झर्दछन् सबै जगतमा एकैसरी आमाकै कोखबाट ।


मतलब, मेरा पुर्खाको आस्थालाई मैले 

पुष्पगुच्छा चढाउनु पर्छ, रक्तरञ्जित गर्नुपर्छ

परिआए, भन्ने कुरा मेरो पनि आस्था हो,

र आस्था चुडिएको धेरै पटक मैले भोगेको छु ।


मतलब, देवता त सहजै पुराना त्यागेर

युगानुसारको नयाँ झिल्के अपनाइन्छ यहाँ,

भजनको आत्मा जस्ताको त्यस्तै राखेर

भेटीको वजन उत्ती, प्रसादको स्वाद त्यही ।


मतलब, अर्धाङ्ग त टुक्राटुक्रा यहाँ पटकपटक 

सहज बिच्छेद-पुनर्छेद, मतियार अनि तिमी नै

मैले टेकेको माटोको नामप्रतिको मेरो प्रेम,

प्रेम मैले पटकपटक मरेको बाँचेको छु ।


मतलब, मतलबको मतलब बुझ आफैँ ।

मङ्सिरको सयपत्री

सूर्यमुखी भनेर अर्ह्याएकी थियौ,

सयपत्री मेरो गाउँघरमा पाइन्छ ।

हुन्छ, काम चल्छ भने 

चार अम्मलजति भेट्नोसहित चुडेँर

जतनसाथ दुईचार डोका

चिसो जुटले बेरबार पारेर

भोलि सबेरैको दुधगाडीमा

तिम्रो नामनम्बर लेखाएर पठाँउला ।


मङ्सिरको सयपत्री विछट्टै मदमत्त वसाउँछ ।

बोटमै ओइलाउन पाउने यिनका नियतीलाई

सौभाग्य ठान्छु कहिले म,

कहिले उमङ्गको तिरस्कार ।

हरेकका आ-आफ्नै व्याख्या

तर पनि खेतबारीका डिलकुना यताउती

सुनौला घामका न्याना किरणमुनि

नाँङ्गा बुढापाते बोटमा 

फाट्टफुट्ट पहेँला टाटाजस्ता भएर

जबरजस्त अटेरी लिसोजस्ता,

कसैले नदेखुन भनेर लुकेर रहेको जस्ता,

रातभर सगाँलेका शित 

छातीभरी सुकाउँदै

अर्को एक दिन

जगतको सुन्दरता पिएर

जोडीजुरेलीका नाँचगान सित्तन चपाउँदै

केही थुगाँहरू हासिँरहेछन्, टिपिदिन्छु;

तिम्रो भोक नमार भन्छु म ।

प्रतीक्षामा

 खराबै हो कि वा (थू थू)

खबर हो काइदा गजबको

खोला पारी आइसक्यो रे !

पर्दा च्यात्छ आँखा घरीघरी

उम्लेको रगत झ्यालढोका ढ्याप्प

कालो न सेतो जगत

घनघोर खैरो !


चिम्सा आँखा धमिला नजर

लरखर लरखर लरतर लरबर 

कान्लामुनि माथि छेऊभित्ता सरोबर 

मातेको पो र'छ बेस्सरी

खुसीमा धोकेछ कि रुदैँछ गम

झ्याक्नी कस्तो बेचैनी  !


दशैँतिहार सब न्यानो गो

मङ्सिर चिसो लौ पुस नै भो

क्षितिज सिन्दुरमा सजिएकी छे आज 

ओछ्याएर बघिनीको छाला विस्तारामा

अजिङ्गरको आहारा दैवको खेल

पुगोस् न हो कल्पेको कहिले त !

पतनको यात्रा

खुला आकाश, पूर्णचन्द्र उजेलो, अन्तिम एकादशीको रात,

फराकिलो, सजिलो सडक, ढुक्चुक ढुक्चुक गोडाको ताल 


मोहक गन्तव्य कपटको, कल्पिसकेँ, अब फर्किन्न कसैगरी,

दास म निधोको, मालिक तकदिरको, अब फर्किन्न कसैगरी


देवताजत्तिकै समान हको दानव, यस धरतीमा सब बराबर,

सही गलत मान्छेको दर्शन, निर्दोष्य छैन कोही, सब बराबर 


जित्नेकै भाष्य हो इतिहास, घिच्च्याहट हरुवापिँढीको सार,

झुट थियो युधिष्ठिरले निलेको पाप पुण्य पनि, गौरव बेकार


जन्मै पहिलो जीत विनाकर्म स्वयंक‍ो, मृत्यु शाश्वत अन्तिम,

खाऊँ, लाऊँ मैँ, सयलबयल गरिरहूँ मैँ, मृत्यु शाश्वत अन्तिम

देशको गन्थन

 म कठोर ढुङ्गा भइसकेछु ।

काठको बाकसमा खाँदिएर

हिजो फर्केको बाईस वर्षे युवाको लाशले

मेरो हृदय विह्वल पार्न सकेन ।


भाडाको एउटै कोठामा

त्यो कान्छो छोरो हुर्काउन

हाडनङ्ग्रा एक्लै जुधेकी 

उसकी आमामाथि खसेको चट्याङ्ले

मेरो गाँसको आकार वा सङ्ख्या घटेन ।


कम्मरमा भिरेर गुच्चा खालमा आउने गर्थ्यो दाइ;

विहान, दिउँसो, बेलुकी

आमालेझैँ लिटो, टालो सुसार सबै उसैले गर्थ्यो ।

भाइको मृत्युको खबरमा

घोप्टी घोप्टी सासै अड्कने गरी

डाँको छोडेर खुब रोयो;

उसको चित्कारले मेरो निन्द्रा हरेन ।


विवाहको वाचालाई पर्खिरहेकी उसकी प्रेमिकाले

उसको तस्वीर टासिँएको ऐनालाई

दाहिने मुड्की हानेर फुटाइन्

र बगेको रगतले सिउँदो रक्तिम पार्दै

शिरानी च्यापेर बलिन्द्र धारा बगाइन् ।

चक्नाचुर भएको उनको सपनाको संवेदनामा 

एउटा फूल विहान 

गणेशको पाउमा चढाइन मैले;

म कठोर ढुङ्गा भइसकेछु ।


दशैँतिहार मुखमै आइपुगेको बेला

एउटा पुरानो चिनजान घट्यो, त्यति न हो,

नयाँले परिपूर्ती भइहाल्छ ।

अकाल मृत्यु भूगोलभित्रै अनगिन्ती, 

किन थप पीर, 

एक महिना 

केही हजार रेमिट्यान्स घट्ने'भो, त्यति न हो ।

अर्को विदेशिन ठीक्क छ लाइनमा एयरपोर्ट,

त्यो गइहाल्छ, पैसा पठाइहाल्छ, देश चलिहाल्छ,

किन सन्तप्त हुनु,

भावनामा बहेर कहीँँ हुन्छ ?

हुरी

भर्खर निदाएको मात्र थिएँ
हिजो मध्यरातमा आधोँ हुरी चल्यो,
डाङ्डाङ्, डुङ्डुङ्, हार्र, हुर्र !

ढोका नलगाई सुत्ने बानी आफ्नो,
हुरी सरासर भित्रै !
पहिला भान्सा कोठामा पस्यो ।
तीन दिन देखि नजलेको चुल्हो,
ढुसी उम्रिसकेका उब्रेपाब्रे,
जुठाभाडाँ असरल्ल भूइँभरी,
साङ्लालाई मनपरी भतेँर,
पानी खान्छु भन्दा समेत चोक्टै चोक्टा ।

रिसले हुन्हुनिदैँ हुरी
मेरो अध्ययन कोठामा छिर्यो ।
रहरले भित्ताजत्रै बनाएको
मभन्दा आधा उमेरको मेरो बुक-सेल्फ,
जस्को पनि आधा उमेर खुब सक्रीय बित्यो
र रित्तिन थालेको भर्खरभर्खर थियो,
मिहिन दृष्टिले केलायो ।

निष्प्रभावित मुद्रामा दाह्री कन्याउदै
थ्याच्च मेरो कुर्सीमा बस्यो,
कब्जियतले ग्रसित भएर थला परेको मेरो नोटबुक 
टेबलबाट टिप्यो, टक्टकायो र पल्टायो ।
पहिलो पानामै ओठ चेप्र्यायो, कन्चेटी कन्यायो,
र थप पाना कविताहरू खरर्र पल्टायो ।

देब्रे हातको नाडी बटारिनु नै थियो, अहिल्यै कि एकछिन,
हस्याङ्फस्याङ्, जुरूक्क उठ्यो,
दाहिने हातले नोटबुक टेबुलमै छोडिदियो,
खुला रहेको झ्यालको खापालाई ढ्याप्प लगाइदियो
र फन्किएर कोठा बाहिर निक्लियो ।

यता म सुत्ने कोठामा पनि आउँछ
र त्यसलाई घोक्रयाएर 
त्यो सगँबाट लय लुटी राख्छु
र घर फोर्दै हिँडेको आरोपमा थुनाइदिन्छु 
भन्ने योजनाले 
त्यसलाई ढ्याप्पा दिन 
ढोका पछाडी आग्लो अँठ्याएर 
तयार थिएँ ।

मूला हुरी त मेरो कोठामा नछिरी सरासर गैदि'रा ।

प्रतिस्पर्धा

 पछाडिको जोर गोडा थुतिएको कमिलो

दुवै पखेटा पालैपिलो उखेलिएको झिङ्गो

प्रतिस्पर्धा एक दाना चिनी तीन बीत्ता पर्तिर

सास छन्जेल आश हुनैपर्यो, पेट छन्जेल दास ।

मरिमेटी अघि सर किरो, सृष्टिलाई शरम आउँदैन,

जन्म नचहादाँ नचहाँदै, चहाँदैमा मृत्यु आउँदैन,

विकार गाँठिएको छ ब्रह्माण्डको जिलोसम्मै,

एउटा जीवनको मूल्य छैन, एउटा मृत्युले केही सुल्झदैन,

निरन्तरता हुनुपर्दछ यान्त्रिक, स्याबास भाइ, सब ठीक,

एक चटाइ मात्र गुलियोको सब थोक जिन्दगी तेरो ।

किन, केकसो सोध्न वर्जित, तँ झिगाँकमिलाको बुद्धि छैन,

डाँडापखेरा कुनाकन्तराका बसोबासी तिमेरू,

परिवर्तित विश्वमा परम्परा, संस्कृती, पहिरन, रहनसहन,

सब गरीब तिमेर्को आवाज माथि पुग्दैन प्राथना प्रलाप हो शैतानको खुट्टामा । कर्मको यान्त्रिक निरन्तर्ता तिमेर्को

आजैदेखि मृत्युलाई तयारी । प्रश्नले सत्यसम्म पुर्याउँछ, 

सत्यसगँको प्रेमले विद्रोही जन्माउँछ । 

त्यस सन्तानलाई मर्न गाह्रो हुन्छ ।

त्यसैले हिँड भाइ किरो, एक चटाइ मात्र गुलियो 

भए पनि होवस् जिन्दगीमा तेरो, प्रतिस्पर्धामा अर्को छ फेरी ।

पुग्न त पुग्छ छेत्तोखेलो, तर सवाल हुनु नहुनसगँ होइन ।

बाँडफाँडमा गल्ती छ, टाउकाभित्रको डिजाइनमा

दोष छ । सवाल त्यो टाउकालाई आकृष्ट

राखिरहनु पर्ने छ, मनोरञ्जित पारिरहनु पर्ने छ ।

र त प्रतिस्पर्धा छ को पहिला पुग्छ, 

कस्ले कति पटक गुलियो चाट्छ ।